राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाईयो
भिओके समाचार/काठमाण्डू, २०८१ पुस २७ गते शनिबार । राष्ट्रिय एकता दिवस तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ ।
उच्च पदस्थ सरकारी अधिकारी, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, विभिन्न संघसंस्थाका सदस्य र सर्वसाधारणले झाँकी, -याली, माल्यार्पण लगायतका कार्यक्रमहरुको आयोजना गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मरण गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय राजधानी काठमाण्डूस्थित सिंहरदबारको पश्चिम गेटमा स्थापना गरिएको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गर्नुभएको छ । नेपाल एकीकरण अभियानका मुख्य नेतृत्वकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको विभिन्न राजनीतिक दलहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापा लगायतले सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुभयो । साथै आम सर्वसाधारणले पनि उहाँको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी स्मरण गरेका छन् । आजै राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनीतिक दलहरुले चियापानसमित राष्ट्रिय एकता दिवस समेत मनाउने गर्दछन् ।
राष्ट्रिय एकता दिवस तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजनागरी मनाईंदै, राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण अर्पण ।।
यसैगरी पृथ्वी जयन्ती तथा ३०३ औँ राष्ट्रिय एकता दिवसका अवसरमा श्रष्टाहरुले कवितामार्फत पृथ्वीनारायण शाहको स्मरण गरकेका छन् । चद्रागिरीमा रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकसामु उभिएर उनीहरुले राष्ट्रनिर्माताप्रति सम्मान व्यक्त गरेका हुन् । श्रष्टाहरुले राष्ट्रनिर्माताप्रति राज्यले नै अन्याय गरेको भन्दै राष्ट्र निर्माता र राष्ट्रिय एकता दिवशप्रति राज्यले गौरवबोध गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा कविहरु विश्वविमोहन श्रेष्ठ, किशोर पहाडी, राजेन्द्र शलभ, शंकर कोईराला, प्रभा भट्टराई, नवराज लम्साल, मणि लोहनी र एलिशा ढुंगानाले पृथ्वीनारायण शाहप्रति लेखिएका कविता वाचन गर्नुभयो ।
पृथ्वीनारायण शाहले शुरु गर्नुभएको नेपाल एकीकरणको अभियानका क्रममा राजनीतिक र धार्मिक महत्व राख्ने चन्द्रागिरीमा उहाँको शालिक राखिएको हो । नेपालको एकीकरण अभियानकै क्रममा पृथ्वीनारायण शाहले मकवानपुर र नुवाकोटको यात्रा चन्द्रागिरीको बाटो हुँदै गर्नुभएको थियो । २०७४ साल असोज ८ गते भालेश्वर मन्दिर परिसरमा पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक स्थापना गरिएको हो ।
विगतमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक वीदा दिने गरेको भए पनि गणतन्त्र स्थापना पछि राष्ट्रनिर्माता पृथ्वी नारायण शाहलाई वेवास्ता गर्न थालिएको र गणतन्त्र पक्षधर दलका नेताहरुले पृथ्वी नारायण शाहको योगदानलाई बुझ्न नसकेको सर्वसाधारणको गुनासो छ ।