Fri. Oct 11th, 2024

दसैँको बेला ‘कुमारी पूजन’ मिथिलाको विशेष परम्परा   

महेन्द्रनगर (धनुषा), २०८१ असोज २५ गते शुक्रबार । मिथिलामा दसैँको बेला गरिने कुमारी पूजनलाई विशेष परम्परा मानिन्छ । जसरी दसैँको बेला दुर्गा पूजा गरिन्छ त्यसरी नै कुमारी पूजनलाई पनि महत्व दिने गरिएको संस्कृतिविद् काशीकान्त झा बताउनुहुन्छ ।

कुमारी पूजनबारे जानकार डा राजेन्द्र विमलका अनुसार दुई वर्षदेखि दश वर्षसम्मका कन्यालाई साक्षात् माताको स्वरूप मानिने भएकाले यो पूजा घर–घरमा हुने गरेको छ । “यस पूजनमा कन्याको खुट्टाको पूजन र भोजन गराइन्छ । मान्यताअनुसार होम, जप र दान दिएभन्दा धेरै कन्या पूजनले देवी प्रसन्न हुने धार्मिक ग्रन्थमा उल्लेख छ । त्यसैकारण दूर्गा पूजाको बेला कन्या पूजनको महत्व छ”, उहाँले भन्नुभयो ।

राससका अनुसार  कन्या पूजनका लागि चयन गरिएको कन्याको उमेर दुई देखि दश वर्षभन्दा बढी हुनु हुँदैन । कन्यालाई भोजनका लागि एकदिन अघि निमन्त्रणा दिने प्रचलन रहेको जनकपुरधाम उपमहानगरपालिकाका पूर्व प्रमुख बजरप्रसाद साहले बताउनुभयो । जनकपुरधाम उपमहानगरपालिका–१६ की खुश्बु मण्डलका अनुसार पूजनका दिन कन्यालाई खुट्टा धोएर, रोली अक्षताबाट पूजन गरी भोजन गराइन्छ र फेरी खुटटा ढोगी दान दिने परम्परा छ ।

कन्या पूजन कतिपयले सप्तमी, अष्टमी नवमी मात्रै गर्छन्, तर मिथिलाका विभिन्न स्थानमा दसैँभरी हुने पण्डित रामचन्द्र झा बताउनुहुन्छ । डा. विमलका अनुसार दूई वर्षकी कन्या कुमारीको पूजनले माता दुःख र दरिद्रता समाप्त हुन्छ भने तीन वर्षकी कन्यालाई त्रिमूर्तिको रूप मानिएकाले परिवारमा सुख समृद्धि आउने गर्छ । यसैगरी चार वर्षकी कन्यालाई कल्याणी मानिएको छ । उक्त पूजनले परिवारको कल्याण हुने मान्यता छ । पाँच वर्षकी कन्यालाई रोहिणी भनिन्छ । यो उमेरको कन्यालाई पूजन गर्दा व्यक्ति रोगमुक्त हुने विश्वास गरिन्छ । छ वर्षकी कन्यालाई कालिकाको रूप मानिन्छ । यसले विद्या, विजय, राजयोगको प्राप्ति हुने विश्वास गरिएको उहाँले बताउनुभयो ।

सात वर्ष की कन्यालाई चण्डिकाको रूप मानिन्छ । यसको पूजा गर्दा ऐश्वर्यको प्राप्ति हुने विश्वास छ । आठ वर्षकी कन्यालाई शाम्भवी भनिन्छ । यसको पूजन गर्दा वाद विवादमा विजय प्राप्त हुने विश्वास छ भने कुनै प्रकारको कलहसमेत नहुने बताइन्छ । नौ वर्षकी कन्यालाई दुर्गा मानिन्छ । यसको पूजन गर्दा शत्रुको नाश हुने विश्वास गरिन्छ । दस वर्षकी कन्यालाई सुभद्रा भनिन्छ । यसको पूजनले भक्तको सबै कामना पूरा हुने मान्यता छ ।

अहिले बच्चा जन्माउनेको सङ्ख्यामा कमी आएपछि कन्याको अभाव हुन थालेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रिङ्कु साहले बताउनुभयो । जनकपुरधाम उपमहानगरपालिका–३ का वडा अध्यक्ष दिपेन्द्र साहले कन्याको अभावमा एउटै कन्यालाई धेरै ठाउँमा पूजन गर्नु परेको जानकारी दिनुभयो । पहिला एउटै टोलमा धेरै कन्या भेटिने गरेकामा अहिले अन्य टोलबाट खोजेर पूजनका लागि ल्याउने गरिएको स्थानीय विनिता कामतले बताउनुभयो ।

Facebook Comments