Wed. Oct 2nd, 2024

जापान वरपरको सुरक्षा वातावरण ‘दोस्रो विश्वयुद्धपछिको सबैभन्दा गम्भीर’– प्रधानमन्त्री इशिबा   

टोक्यो, २०८१ असोज १५ गते मंगलबार । जापानका नयाँ प्रधानमन्त्री शिगेरु इशिबाले मङ्गलबार उहाँको मुलुकले दोस्रो विश्वयुद्धपछिको युगमा ‘सबैभन्दा गम्भीर’ क्षेत्रीय सुरक्षा स्थितिको सामना गरिरहेको बताउनुभएको छ । यद्यपि उहाँले कुनै विशेष खतराको नाम उल्लेख गर्नुभएन ।

“हाम्रो मुलुक वरपरको सुरक्षाको वातावरण दोस्रो विश्वयुद्धको समाप्तिपछिको सबैभन्दा गम्भीर छ”, दिनको प्रारम्भमा संसद्द्वारा प्रधानमन्त्रीका रूपमा अनुमोदन भएपछि आफ्नो पहिलो पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।

सतसठ्ठी वर्षीय इशिबा पूर्व रक्षामन्त्री हुनुहुन्छ । उहाँले पहिले चीनको द्रुत सैन्य निर्माण, उत्तर कोरियाली मिसाइल प्रक्षेपण र अन्य सुरक्षा खतराको सामना गर्न एसियाली नाटो सिर्जना गर्न आह्वान गर्नुभएको थियो ।

“जापान–अमेरिका गठबन्धनलाई आधार बनाएर हामी जापान र यस क्षेत्रको शान्तिलाई साकार गर्न कूटनीति र रक्षाको प्रयोग गर्दै मित्रवत र समान विचारधारा भएका देशहरूको दायरा विस्तार गर्नेछौँ”, उहाँले मङ्गलबार पत्रकारहरूलाई भन्नुभयो ।

उहाँले साइबर सुरक्षा र विदेशमा रहेका जापानी नागरिकहरूको सुरक्षामा पनि ध्यान केन्द्रीत गर्ने र जापानी सेनाका लागि नयाँ सैनिकहरूको अभाव समाधान गर्न काम गर्ने बताउनुभयो ।

एएफपीका अनुसार अर्थतन्त्रका सन्दर्भमा जापान बैंकको अत्यन्त खुकुलो नीतिबाट बाहिरिन समर्थन गर्ने इशिबाले आफ्ना पूर्ववर्ती फुमियो किशिदाको कामलाई व्यापक रूपमा जारी राख्ने बताउनुभयो ।

“जापानी अर्थतन्त्र अपस्फीतिबाट बाहिर निस्कने कि ननिस्कने भन्ने सङ्घारमा छ, म अपस्फीति अन्त्य गर्नलाई प्राथमिकता दिन्छु र हाम्रो अर्थतन्त्र र वित्तीय नीतिहरूलाई अगाडि बढाउनेछु”, उहाँले भन्नुभयो ।

गत साता सत्तारूढ दलको नेतृत्वका लागि भएको मतदानमा विजयी हुनुभएका इशिाबले आफ्नो जनादेश सुदृढ गर्न अक्टोबर २७ मा आम निर्वाचन गराउने इच्छा व्यक्त गर्नुभएको छ ।

उहाँले मङ्गलबार सार्वजनिक र निजी क्षेत्रले ‘सबै सङ्गठनका सबै निर्णय लिने परिदृश्यमा महिला सहभागिता’ को साझा लक्ष्य हुने बताउनुभएको छ । यद्यपि दिनको सुरुमा घोषणा गरिएको उहाँको २० सदस्यीय मन्त्रिमण्डलमा दुई जना महिलालाई मात्र समावेश गरिएको छ ।

Facebook Comments