Tue. Oct 1st, 2024

विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकअर्कालाई सहयोग गरौँः अध्यक्ष दाहाल   

ललितपुर, २०८१ असोज १५ गते मंगलबार । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकले अर्कालाई सहयोग गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

राससका अनुसार  आज ललितपुर महानगरपालिका–१३ नख्खु क्षेत्रका बाढीपीडितलाई भेटेर उहाँले अप्रत्यासित रूपमा घटेको घटनाप्रति दुःख व्यक्त गर्नुहुँदै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “ यस्तो दुःखको घडीमा सबै मिलेर काम गर्नुपर्ने आवश्यकता छ । हाम्रो पार्टीले पनि सक्नेजति नेता कार्यकर्तामार्फत र बाँकी कामका लागि सरकारलाई आग्रह गरेर पीडितका समस्या समाधानको पहल गर्छ”, अध्यक्ष दाहालले भन्नुभयो । उहाँले बाढीपीडितका समस्या समाधान गरी पीडितले सहज रूपमा दसैँ मनाउने वातावरण बनाउन सरकारले द्रुतगतिमा पुनःस्थापनाका काम अगाडि बढाउनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा बाढीपीडितहरूले खानेपानी, विद्युत्लगायत अत्यावश्यक सेवा चाँडै आपूर्तिका लागि सहजीरण गरिदिन आग्रह गरेका थिए । स्थानीयले भनेका थिए, “बाढीले तहसनहसको अवस्था छ । त्यसैमा खोलाले बगाएर ल्याएका पशुको दुर्गन्धले झनै समस्या भएको छ । हालसम्म पनि कतिपय घरधुरीमा पानी र विद्युत् अवरुद्ध भएकाले सरकारले यसको व्यवस्थापन चाँडै गरिदिनुपर्‍यो ।”

Facebook Comments