Tue. Oct 1st, 2024

बङ्गलादेशमा विद्युत् निर्यात गर्न बिहीबार सम्झौता हुने

काठमाण्डू, २०८१ असोज १५ गते मंगलबार । बङ्गलादेश विद्युत् निर्यातलाई अन्तिम टुङ्गोमा पुर्‍याउने उद्देश्यसहित मङ्गलबारदेखि नेपाल बङ्गलादेश दुई देशीय संयन्त्रको बैठक आजदेखि राजधानीमा सुरु हुँदै छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतका अनुसार मङ्गलबार र बुधबार दुई देशका ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक बस्ने छ ।

बिहीबार भने सचिवस्तरीय संयुक्त निर्देशन समितिको बैठक बस्ने चटौतले जानकारी दिनुभयो ।

आपसी सहकार्य र सम्बन्ध विस्तारका लागि नियमित बस्दै आएको यो बैठकका अवसरमा यस पटक नेपालको विद्युत् बङ्गलादेश निर्यात गर्न नेपाल–भारत र बङ्गलादेशका सम्बन्धित निकायका अधिकारीबिच त्रिपक्षीय सम्झौता गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

बिहीबार नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभपलमेन्ट बोर्ड (बिपिडिबी) तथा भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) बिच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता हुने छ । नेपालले विद्युत् बिक्री गर्ने, भारतको प्रसारण लाइन हुँदै लैजानुपर्ने र बङ्गलादेशले त्यो खरिद गर्ने भएकाले तीन देशका निकायबिच त्रिपक्षीय सम्झौता हुन लागेको हो ।

सम्झौतामा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बिपिडिबीका अध्यक्ष मोहम्मद रेजुल करिम तथा एनभिभएनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रेनु नारङ्गले हस्ताक्षर गर्ने तय भएको उहाँले जानकारी दिनुभयो ।  गोरखापत्र

Facebook Comments