Sun. Apr 28th, 2024

नेपाल-चीन मैत्रीको विकासमा जुन २५ को महत्व

- चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवाको ४५ औं वार्षिकोत्सव विशेष

काठमाडौं, २०७७ असार ११ गते बिहीबार

आज जुन महिनाको २५ तारिख । प्रत्येक वर्षको जुन २५ तारिख हामीमाझ विशेष दिन बनेर आउने गर्दछ । तर हामी धेरैलाई जुन २५ तारिख किन विशेष दिन बनेर आउने गर्छ र यस दिनलाई आज पनि किन हजारौं नेपाली अनि चिनियाहरुले सम्झना गर्छन त्यसको बारेमा कमैलाई मात्र जानकारी छ । त्यसैले आज हामी नेपाली चीन मैत्रीको विकासमा महत्वपूर्ण योगदान पुर्याएको जुन २५ तारिखको बारेमा चर्चा गर्दैछौं ।

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोबाट नेपाली भाषामा प्रसारणको शुभारम्भ सन् 1975 को जून पच्चिस तारिखका दिन भएको थियो। हाल यस भाषामा हरेक दिन शर्ट वेभ र मिडियम वेभबाट जम्मा चार घण्टा प्रसारण भइरहेको छ। नेपाली सेवाका श्रोताहरु नेपाल बाहेक भुटान, भारत, बंगलादेश, साउदी अरेबिया र संयुक्त अरब इमेरेटस आदि मुलुकहरुमा पनि छन।

             नेपाली सेवाले हरेक दिन समाचार, साथै “चीनको तिब्बत” “चिनियाँ संस्कृति”, “अर्थ जगत”, “श्रोता चौतारो”, “साक्षात्कार” आदि नियमित कार्यक्रमहरुको प्रसारण गरिरहेको छ। चाडबाड र स्मृति दिवसका उपलक्ष्यमा नेपाली सेवाले प्रायजसो विविध किसिमका आकर्षक विशेष कार्यक्रमहरु प्रसार गर्ने गरेको छ।

            विगत केही वर्षदेखि नेपाली सेवाले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका मुख्य नेताहरु, संसदका सभामुख, परराष्ट्र मन्त्री, चीनका लागि नेपाली राजदूत, चीन विज्ञ विद्बानहरु, चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरु तथा चीनका विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुसित अन्तर्वार्ता लिई प्रसार गर्दै आएको छ।

            चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले सन् 2003 डिसेम्बरमा चीनभित्रको पहिलो नेपाली भाषाको वेभ-साइट सार्वजनिक गरेको छ। पर्याप्त र विविध विषयका साथसाथै आकर्षक चित्र-सामग्रीहरुले सजाइएको यस वेभ-साइटले नेपाल सरकारका पदाधिकारीहरु लगायतका विभिन्न क्षेत्रका नेपाली इन्टरनेटका प्रयोगकर्ताहरुलाई आकर्षित गरेको छ। अझ कहाँसम्म भने, बेल्जियम, जापान, बेलायत,अष्ट्रेलिया,क्यानाडा र अमेरिकाजस्ता विकसित मुलुकहरुमा बसोबास गरिरहेका धेरै नेपाली मित्रहरुले पनि सी. आर. आई. नेपाली सेवाको वेभ-साइटमार्फत सूचना प्राप्त गर्ने बानी बसालिसक्नुभएको छ।

              सन् 2003 को अप्रिल महिनामा नेपाली सेवाले चीनमा नेपाली भाषाको एक मात्र समाचारपत्र “मितेरी पुल”को त्रैमासिक प्रकाशन शुरु गरेको थियो जसलाई व्यापक नेपाली श्रोताहरुले मन पराएको पाइएका थिए। हाल सीआरआई नेपाली सेवाले नेपालको स्थानीय प्रकाशन संस्थासँग साझेदारीमा’हट नेपाल’ मासिक पत्रिका प्रकाशन गर्दै आएको छ। सन् 2012 अक्टोबर 13 तारिखदेखि सीआरआईले नेपालको क्यापिटल एफएमसँग साझेदारी सुरु गरेको छ।

                बितेका ४५ वर्षदेखि नेपाली प्रसारण सुन्ने श्रोताहरुको संख्या दिन-दिनै बढ्दो छ। श्रोताहरुको तत्परतामा स्थापित सी. आर. आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद, नेपालले श्रोताहरुलाई नेपाली सेवासित सम्पर्क गराउने र नेपाली प्रसारणको प्रचार-प्रसार गर्ने दिशामा महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको छ। हाल नेपालमा सी.आर.आई.का करिब सात सयवटा श्रोता क्लबहरु छन्। नेपाली श्रोताहरुबाट हरेक वर्ष प्राप्त पत्रहरुको संख्या एक लाखभन्दा बढी पुग्ने गरेको छ। सन् 1990 देखि हालसम्म पन्ध्रजना नेपाली श्रोताले सी.आर.आई.द्बारा सञ्चालित ज्ञान-विज्ञान प्रतियोगितामा विशेष पुरस्कार जितेर चीनको भ्रमण गरिसक्नुभएको छ। नेपाली श्रोताहरुले भित्री हृदयदेखि नै चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवालाई “हिमालय पार गर्ने मितेरी पुल”को संज्ञा दिँदै त्यसको उच्च प्रशंसा गर्नुभएको छ।

               यस नेपाली सेवामा हाल जम्मा बार्‍हजना चिनियाँ कर्मचारीहरु र तीनजना नेपाली विशेषज्ञहरु कार्यरत हुनुहुन्छ।

Facebook Comments