Sun. Sep 22nd, 2024

काठमाण्डूमा भव्य समारोहबीच मध्य शरद चाड मनाईयो

रमेश हतुवाली/काठमाण्डू, २०८१ असोज १ गते मंगलबार । चिनियाँ साँस्कृतिक केन्द्र नेपालले एक भव्य समारोहको आयोजना गरी मध्य शरद चाड मनाएको छ ।

काठमाण्डू महाराजगञ्जस्थित कार्यालयमा आज सो केन्द्रले चिनियाँ तथा नेपाली कविता वाचन र गोष्ठीको आयोजना गरी चिनियाँ जनताको महत्वपूर्ण मध्य शरद चाड मनाएको हो ।

सो समारोहमा अरनिको समाजका पूर्वअध्यक्ष तथा चीन विज्ञ डा. सर्वोत्तम श्रेष्ठले मध्य शरद चाडको परिचय, सो चाडको साँस्कृतिक तथा धार्मिक महत्व र चिनियाँ कवि र उनीहरुका कविताबारेमा विस्तृत जानकारी दिनुभएको थियो ।

डा. सर्वोत्तम श्रेष्ठ, पूर्वअध्यक्ष, अरनिको समाज

कार्यक्रम आयोजक संस्था चिनियाँ साँस्कृतिक केन्द्र नेपालका निर्देशक स्याओ च्याङले कार्यक्रममा उपस्थित समस्त महानुभावहरुलाई मध्य शरद चाडको शुभकामना व्यक्त गर्नुभयो । साथै निर्देशक च्याङले चिनियाँ समाजमा मध्य शरद चाड र चन्द्रमाको धार्मिक तथा साँस्कृतिक महत्वका बारेमा जानकारी दिनुहुँदै कविता वाचन र विचार गोष्ठिले चिनियाँ र नेपाली साहित्यवीचको आदान प्रदान र अन्तरक्रियालाई प्रतिनिधित्व गर्ने बताउनुभयो ।

स्याओ च्याङ, निर्देशक, चिनियाँ साँस्कृतिक केन्द्र नेपाल

वल्र्ड कल्चरल नेटका अध्यक्ष दीपक सरकारले सहजीकरण गर्नुभएको सो कार्यक्रममा लोकप्रिय कवि मोमिला जोशीले चिनियाँ साहित्य गहन भएको बताउनु भयो । उहाँले चिनियाँ कविहरुले लेख्नु भएका कविता सुक्ष्म र भावले पूर्ण हुने गरेको अनुभव पनि सुनाउनुभयो । कवि जोशीले सो समारोहमा जूनको कपिराईट शीर्षकको कविता वाचन गर्नुहुँदै नेपाल लगायत विश्वका हरेक देशमा जून अर्थात चन्द्रमालाई मानव जातिले विशेष अर्थमा बुझ्ने र स्मरण गर्ने गरेको बताउनुभयो ।

मोमिला जोशी, लोकप्रिय कवि

सो अवसरमा अनिल चन्द्र श्रेष्ठ, चम्सरी गुरुङ, बलराम पौडेल, श्रेया महर्जन, गिरीस खरेल, जितेश महर्जन, चन्द्रमान तामाङ र मोहन प्रसाद सुवालले चीनका प्रसिद्ध कविहरु ली पाई, पाई चु इ, वाङ च्यान, चाङ चिउलिङ, ली साङ यीन, चाङ याङ हाओ, सु श ले लेख्नु भएका कविताहरु सुनाउनु भएको थियो भने चिनियाँ भाषा अध्ययन गरिरहनुभएकी विद्यार्थी उन्नती जि.सी.ले नेपाल र चीनको मित्रता शीर्षकमा कविता वाचन गर्नुभएको थियो । सो अवसरमा संचारिका समूह नेपालका अध्यक्ष विमला तुम्खेवाले जूनको उज्यालोमा पारिजातको फूल शीर्षकका कविता बाचन गर्नुभएको थियो ।

विमला तुम्खेवा, अध्यक्ष, संचारिका समूह नेपाल

सो समारोहमा नेपालस्थित विभिन्न मैत्री संस्थाका प्रतिनिधिहरु, पर्यटन तथा साँस्कृति क्षेत्रसँग सम्बन्धित महानुभाव, शिक्षक, विद्यार्थी, साहित्यकार र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा चिनियाँ साँस्कृतिक केन्द्र नेपालका निर्देशक स्याओ च्याङले दिनुभएको स्वागत मन्तब्यको पूर्ण पाठ :

नमस्कार ।

आदरणीय डा. सर्वोत्तम श्रेष्ठ, आदरणीय मोमीला जोशी, आदरणीय विमला तुम्खेवा, आदरणीय दीपक सरकार र अन्य अतिथी पाहुना तथा चिनियाँ भाषा कक्षाका विद्यार्थीहरुलाई आजको यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु ।

आज चिनियाँ साँस्कृतिक केन्द्रमा चीनको परम्परागत महत्वपूर्ण मध्य शरद ऋतु चाडतपाईँहरुसँगै मनाउन पाउँदा धेरै खुशी लागेको छ । मध्य शरद ऋतु चाडसँग जोडिएका थुप्र्रै पौराणिक कथाहरु प्रचलित छन् । यी सुन्दर कथाहरु मध्ये स्वर्गीय दरबार, चन्द्रमाकी देवी, जेडको खरायो जस्ता कथाहरुले प्राचिन चिनियाँहरुको समृद्ध कल्पना र तिनीहरुबीचको अन्तरक्रियाको बारेमा खोज र जिज्ञासालाई प्रतिबिम्बित गर्दछ । हजारौं वर्ष अघिदेखि चलिआएको मध्य शरद ऋतु चाडको बारेमा चिनियाँ विद्वानहरुले लेखेका कविता, क्यालिग्राफि र चित्रला जस्ता सिर्जना आजसम्म पनि प्रचलित छन् ।

मध्य शरद ऋतु चाडसँग जोडिएका थुप्र्रै पौराणिक कथाहरु प्रचलित छन् । यी सुन्दर कथाहरु मध्ये स्वर्गीय दरबार, चन्द्रमाकी देवी, जेडको खरायो जस्ता कथाहरुले प्राचिन चिनियाँहरुको समृद्ध कल्पना र तिनीहरुबीचको अन्तरक्रियाको बारेमा खोज र जिज्ञासालाई प्रतिबिम्बित गर्दछ । हजारौं वर्ष अघिदेखि चलिआएको मध्य शरद ऋतु चाडको बारेमा चिनियाँ विद्वानहरुले लेखेका कविता, क्यालिग्राफि र चित्रला जस्ता सिर्जना आजसम्म पनि प्रचलित छन् ।

यस पर्वमा चिनियाँहरु चन्द्रमाको बयान र प्रशंसा गर्ने, चित्रकला कोर्ने, स्वादिला खाना सहित पारिवारीक भेला गर्ने गर्दछन् । यसैगरी टाढा रहेका आफन्तहरुको सम्झनामा अग्लो ठाउँमा गएर चन्द्रमा हेर्दै उनीहरुको ईच्छा पुरा होस् भनी आफ्नो सद्भाव व्यक्त गर्दछन् । आजको यस कविता वाचन कार्यक्रममा चिनियाँ शास्त्रीय कविताको आकर्षणलाई बुझ्न मध्य शरद चाडसँग केन्द्रित थाङग, सोंग र युआन राजवंशकालमा रचिएका उत्कृष्ट कविताहरु छानेका छौं ।

यसैगरी मध्य शरद चाड र चन्द्रमासँग जोडिएका कविता वाचन र आफ्ना साहित्यीक कृति सुनाउन नेपालका चर्चित कविहरु मेमिला जोशी र विमला तुम्खेवाज्यूलाई निम्तो गरेका छौं । वहाँहरुको गरिमामय उपस्थितीले हामी सम्मानीत भएका छौं । यो मध्य शरद चाड कविता वाचन कार्यक्रमले चिनियाँ र नेपाली साहित्यबीचको आदान प्रदान र अन्तरक्रियालाई प्रतिनिधित्व गर्दछ । आशा छ तपाईँहरुलाई सुन्दर अनुभूति प्रदान गर्नेछ ।

कुनै पनि चाडपर्वहरुमा विशेष खानपिनको आफ्नै महत्व हुने गर्छ । यस सन्दर्भमा मध्य शरद चाडमा मुनकेक(चन्द्र केक) ले विशेष महत्व राख्छ । त्यसैले आज हामीले कविता वाचनपछि मुनकेक र डिनरको व्यवस्था गरेका छौं ।

फेरी पनि आज यस कार्यक्रममा तपाईँहरु सबैलाई हार्दिक स्वागत गर्दछु । अब कविता वाचन कार्यक्रम औपचारिक रुपमा सुरु हुन्छ । धन्यवाद ।

Facebook Comments