Wed. Sep 25th, 2024

रत्नेचौर र उपल्लाचौरमा सिँचाइ आयोजना पुनःनिर्माण   

म्याग्दी, २०८१ साउन १९ गते शनिबार । म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरको दुई हजार २३ र उपल्लाचौरको दुई हजार चार साले सिँचाइ आयोजना पुनःनिर्माण भएको छ । पहिराले भासिएको ठाउँमा पाइप र सडकले पुरिएको ठाउँमा नयाँ नहर बनाएर सिँचाइ आयोजना पुनःनिर्माण गरिएको हो । विसं २००४ मा निर्माण भएको नहरलाई चार साले र २०२३ मा निर्माण भएको आयोजनालाई तेईस साले सिंचाइ आयोजना नामकरण गरिएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा छुट्टाछुट्टै उपभोक्ता समितिमार्फत आयोजना पुनःनिर्माण भएको हो । उपल्लाचौर जल उपभोक्ता समितिका अध्यक्ष चन्द्रवीर थापाले पछिल्लो तीन आर्थिक वर्षमा रु ६० लाख बजेटबाट तीन सय ८० मिटर नहर र एक हजार ८२ मिटर पाइपलाइन जडान भएको बताउनुभयो ।

“वि.सं. २०४८ मा बनाइएको पक्की नहर मुहान् नजिकै पहिराले भासिएको र उपल्लाचौरमा रत्नेचौर-अर्जम-भकुण्डे सडक निर्माणका क्रममा पुरिएको थियो”, उहाँले भन्नुभयो, “भासिएको ठाउँमा पाइपलाइन र पुरिएको नहर पुनःनिर्माण गरेपछि मुहानबाट पठाएको जति सबै पानी खेतमा आइपुग्ने भएको छ ।”

एक सय ५० घरधुुरी कृषकको करिब पाँच सय रोपनी जमिनमा १२ महिना सिँचाइ सुविधा पुगेको छ । चालुु आर्थिक वर्षमा विनियोजन भएको रु २२ लाख बजेटबाट एक हजार पाँच सय ७४ मिटर पाइपलाइन जडान, मुहानमा दुर्य वटा इन्टेक र ३० थान ग्यावीयन पर्खाल बनाएर २३ साले सिँचाइ आयोजनाको पुनःनिर्माण गरिएको उपभोक्ता समितिले जनाएको छ ।

समितिका सचिव ओम रोकाले पाइपलाइन जडान गरेपछि वर्खाको समयमा नहर बगाउने समस्या हटेको बताउनुभयो । रत्नेचौरको २५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुुगेको उहाँले बताउनुभयो । २३ साले सिँचाइ आयोजना मर्मत सम्पन्न भएपछि ढोडेनी खोलाको पानी रत्नेचौरको फाँटमा सहज रुपमा आएपछि रत्नेचौरका किसानले असार महिनाभित्रमै धान रोपाइँ सकेका स्थानीय शङ्कर महतले बताउनुभयो । “पहिरो र बाढीले पुरानो कुलाको नहर र मुहान भत्काएपछि यसअघिको दुई वर्ष आकासे पानीको भरमा सिँचाइ गरेर धान रोप्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “ढोडेनी खोलाको पानी रत्नेचौरको फाँटमा ल्याएर सिँचाइ गर्न पाएपछि किसानलाई सहज भएको छ ।”  रासस

Facebook Comments