Wed. Sep 25th, 2024

सोमालियाको समुद्री तटमा अल-शबाबको आक्रमणमा परी ३२ जनाको मृत्यु   

मोगादिशु (सोमालिया),२०८१ साउन १९ गते शनिबार । सोमालियाको राजधानी मोगादिशुको समुद्र तटमा अल-शबाबले गरेको आत्मघाती आक्रमणमा परी ३२ जनाको मृत्यु हुनुका साथै कयौँ घाइते भएको प्रहरीले शनिबार जनाएको छ ।

अल-कायदासँग सम्बन्धित जिहादीले १७ वर्षदेखि सरकार विरुद्ध विद्रोह गर्दै आएका छन् ।

आक्रमण पछि सार्वजनिक गरिएको भिडियोमा सडक तथा समुद्र तटमा रगतले लतपतिएका शवहरू देखाइएको थियो ।

आक्रमणमा परी ३२ जनाभन्दा बढी सर्वसाधारणको मृत्यु हुनुका साथै ६३ जना घाइते भएको प्रहरी प्रवक्ता अब्दिफताह अदान हसनले पत्रकार सम्मेलनमा बताउनुभयो ।

आक्रमणकारीले नागरिकलाई लक्षित गरी गरेको विस्फोटले आक्रमणकारीको निशानामा सरकारी केन्द्र, सैनिक र अधिकारी मात्र नभई नागरिक पनि परेका छन् भन्ने प्रष्ट भएकोे प्रहरी प्रवक्ता हसनले उल्लेख गर्नुभएको छ ।

आक्रमणको जानकारी दिँदै प्रत्यक्षदर्शीले विस्फोट हुँदा घटनास्थलमा धेरै मानिसहरू रहेको बताएका छन् ।

अल-शबाबले मोगादिशुलगाथत देशको अन्य भागमा भएका बम विस्फोट र आक्रमणको जिम्मेवारी लिएको छ भने सरकारले इस्लामिक उग्रवादीहरू विरुद्ध आक्रमण गर्न दबाब दिइरहेको छ । एएफपी

Facebook Comments