Wed. Dec 25th, 2024

पूर्वमा पनि नेपाली भूमि कब्जा

एसएसबीले कब्जा गरेको नेपाली भूमिमा रहेको सीमा स्तम्भमा फालेलुङ गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङलगायत वार्ता टोली। सौजन्य : शिल्प साम्पाङ

फिदिम, २०७७ जेठ १ गते बिहीबार

पश्चिम नेपालको लिपुलेक कब्जा गरेर सडक बनाएको भारतले पूर्वको पाँचथरमा पनि नेपाली जमिनमा आधिपत्य जमाएको छ। भारतसँग सीमा जोडिएको पाँचथरको फालेलुङ गाउँपालिकाको नेपाली भूमि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कब्जा गरेको हो।

पछिल्लो समय सार्वजनिक भएको नक्साबमोजिम सीमा क्षेत्रको नेपाली भूमि भारतमा परेको उसको दाबी छ। एसएसबीले फालेलुङ गाउँपालिका-६ को सन्तकपुर आहालगैरी क्षेत्रको नेपाली भूमिमा आधिपत्य जमाएको छ। उक्त क्षेत्र पाँचथरको फालेलुङ, इलामको सन्दकपुर र भारतको पश्चिम बंगालसँग जोडिएको छ। ‘एसएसबीले नेपाली भूमि कब्जा गरेको छ,’ फालेलुङ गाउँपालिकाका प्रवक्ता जीवन राईले भने, ‘एसएसबीसँग हामीले वार्तासमेत ग¥यौं तर हाम्रो क्षमताले भूमि फिर्ता गर्न सकिएन।’

सीमा स्तम्भभन्दा करिब ४ सय मिटर नेपालतर्फको जमिन एसएसबीले कब्जा गरेको हो। अतिक्रमित जमिनमा तीन वटा पिलर (सीमास्तम्भ) छन्। एउटा जंगे पिलर पनि छ। दुई सीमा स्तम्भबीच एउटा हटाइएको छ। जंगे पिलरभन्दा करिब ४ सय मिटर नेपालतर्फको जमिनमा एसएसबीले कब्जा जमाएको हो। नेपाली भूमि भारतले कब्जा गरेको थाहा भएपछि फालेलुङ गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङ नेतृत्वले एसएसबीसँग मंगलबार वार्ता गरेको थियो। वार्तामा माथिको निर्देशनअनुसार आफूले सीमा क्षेत्रको जमिन नियन्त्रणमा लिएको एसएसबीको कमान्ड गरिरहेका रिक्सल कुमारले बताएको राईले जानकारी दिए। ‘एसएसबीले नेपाली भूमि मिचेको हो,’ गाउँपालिका अध्यक्ष केरुङले भने, ‘हाम्रो स्तरबाट मिलाउन सम्भव भएन, यो विषयमा संघीय सरकारले गम्भीरतासाथ चासो दिनुपर्छ।’

एसएसबीले कब्जा गरेको आहाल गैरी क्षेत्रमा संग्रहालय बनाउन डिभिजन वन कार्यालय पाँचथरले बन उभोक्ता समितिलाई १० लाख रुपैयाँ उपलब्ध गराएको थियो। सन्दकपुर आहालगैरी कबुलियती वन उपभोक्ता समितिले संग्रहालय बनाउने काम सुरु गर्न लाग्दा एसएसबीले अवरोध गरेको हो। ‘संग्रहालय निर्माण सुरु गरेपछि एसएसबीले यो जमिन भारतमा पर्छ भन्दै अवरोध गरे,’ स्थानीय शिल्प राईले भने, ‘उक्त क्षेत्रमा करिब सय हाराहारीमा एसएसबी तैनाथ छन्।’

वन उपभोक्ता समितिले वैशाख २४ गतेदेखि सुरु निर्माण कार्य २६ गते एसएसबीले अवरोध गरेको हो। उक्त क्षेत्र एसएसबीले नियन्त्रणमा लिएको छ। एसएसबीले नियन्त्रणमा लिएको जमिनमा नेपाली नागरिकले एउटा होटल र एउटा गोठ सञ्चालन गरेका छन्। गोठ र होटल पनि उसकै नियन्त्रणमा छन्। उक्त स्थानमा पिंकी शेर्पाले होटल र पेम्बा छिरिङले गोठ सञ्चालन गरेका थिए।

सीमा क्षेत्रमा एसएसबीले अवरोध गरेको खबर सुनेपछि समाधानका लागि आफूले पहल थालेको प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बताए। ‘वास्तविकता बुझ्न टोली खटाइएको छ,’ प्रजिअ शर्माले भने, ‘डिभिजन वन कार्यालयको टोली बुधबार सीमा क्षेत्रतर्फ पठाइएको हो। वन कार्यालयको टोलीले ल्याएको प्रतिवेदनका आधारमा प्रशासनका काम थाल्ने शर्माको भनाइ छ। अन्नपूर्ण पोष्ट अनलाईनबाट

Facebook Comments