Sat. Sep 21st, 2024

फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्वारा एकै सिजनमा ३ पटक सगरमाथा आरोहण

भिओके समाचार/काठमाण्डू, २०८१ जेठ १२ गते शनिबार । फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक साता भित्रै २ पटक र एउटै सिजनमा ३ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल हुनुभएको  छ ।

पत्रकार श्रेष्ठ एउटै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला समेत बन्न सफल हुनुभएको छ । सगरमाथा आरोहण गरिसकेपछिको भिडियो ट्वीटरमा शेयर गर्दै पत्रकार श्रेष्ठले गत मे १२ र मे १९ का दिन एक सातामै दुई पटक सगरमाथाको सफल आरोहण गरेको गौरवशाली क्षण शेयर गर्नुभएको हो ।

पत्रकार श्रेष्ठले एट के एक्सपिडिसनको साथ विश्वको सर्वोच्च शिखर पुग्नु भएको हो । एट के एक्सपिडिसनका निर्देशक लाक्पा शेर्पाका अनुसार पूर्णिमा फुरा टेम्बा शेर्पासँगै मे १२ मा पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुग्नु भएको थियो । पत्रकार श्रेष्ठ पासाङ शेर्पासँग मे १९ मा दोस्रो पटक सगरमाको शिखर पुग्नु भएको थियो । त्यसैगरी आज मे २५ तारिख बिहान ५ बजेर ५० मिनेट जाँदा पत्रकार श्रेष्ठ कर्मा ग्याल्जेन शेर्पासँगै तेस्रो पटक सगरमाथाको शिखरमा पुग्न सफल हुनुभएको हो ।

फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्वारा एकै साता २ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण, एउटै सिजनमा ३ पटक सगरमाथाको आरोहण गर्दै किर्तीमान कायम ।।

पूर्णिमाले यस अघिनै ८ हजार मिटरभन्दा अग्ला हिम शिखरहरु ८ हजार १ सय ६३ मिटर मनास्लु दुई पटक, अन्नपूर्ण प्रथम (८०९१ मिटर), धौलागिरी (८१६७ मिटर), कञ्चनजङ्घा (८५८६ मिटर), ल्होत्से (८५१६ मिटर), मकालु (८४८१ मिटर) र माउण्ट के टु (८६११ मिटर) आरोहण गरिसक्नु भएको छ ।

एक दशकदेखि फोटो पत्रकारीतामा लाग्नु भएका श्रेष्ठको जन्म गोर्खा जिल्लाको आरुघाटमा भएको हो ।

Facebook Comments