Sat. Sep 21st, 2024

अन्तर्राष्ट्रिय अदालतले आक्रमण रोक्न आदेश दिएको एक दिनपछि इजरायलले रफाहमा गरियो आक्रमण

रफाह (प्यालेस्टिनी क्षेत्र), २०८१ जेठ १२ गते शनिबार । हमासले अक्टोबर ७ मा सुरु गरेको युद्धको युद्धविराम खोज्ने प्रयासबीच संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय अदालतले दक्षिणी सहरमा सैन्य कारबाही रोक्न आदेश दिएको एक दिनपछि शनिबार इजरायलले राफाहसहित गाजापट्टीमा बम प्रहार गरेको छ ।

इजरायली सेनाले उत्तरी गाजाबाट थप तीनजना बन्दीहरूको शव बरामद गरेको घोषणा गरेको केही घण्टापछि अन्तर्राष्ट्रिय अदालतले (आइसीजे)ले पनि प्यालेस्टिनीले अझै पनि बन्धक राखेका सबैलाई तत्काल रिहा गर्न माग गर्यो र इजरायललाई इजिप्ट र गाजाबीचको राफाह क्रसिङ्ग खुला राख्न आदेश दिएको हो ।

“इजरायलले रफाह क्षेत्रमा सैन्य कारबाही गरेको छैन र गर्ने पनि छैन जसले प्यालेस्टिनी नागरिकको जीवनमा पूर्ण वा आंशिक विनाश गर्न सक्ने अवस्था सिर्जना गर्दछ”, राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले इजरायलको विदेश मन्त्रालयका प्रवक्तासँगको संयुक्त विज्ञप्तिमा भन्नुभयो ।

सन् २००७ देखि गाजामा शासन गर्दै आएको प्यालेस्टिनी लडाकु समूह हमासले रफाहमा आक्रमण रोक्ने आइसीजेको फैसलाको स्वागत गरेको छ तर युद्धग्रस्त गाजाको बाँकी भागलाई बेवास्ता गरेको भन्दै निर्णयको आलोचना गरेको हो ।

आइसीजेको फैसलाको केही घण्टापछि इजरायलले शनिबार बिहान गाजापट्टीमा आक्रमण गरेको छ ।

एएफपीका अनुसार   प्यालेस्टिनी साक्षी र एएफपी टोलीले राफाह र केन्द्रीय सहर देइर अल-बलाहमा इजरायली आक्रमण भएको जनाएको थियो ।

“हामीलाई आशा छ कि, अदालतको निर्णयले इजरायललाई यो विनाशको युद्ध अन्त्य गर्न दबाब दिनेछ, किनकि यहाँ केही बाँकी छैन”, गाजा युद्धका कारण देइर अल-बलाहमा विस्थापित प्यालेस्टिनी महिला ओम मोहम्मद अल-अस्काले गुनासो व्यक्त गर्नुभयो ।

“इजरायल आफूलाई कानुनभन्दा माथि ठान्छ । तसर्थ, गोलीबारी वा बल प्रयोग बाहेक अरूले इजरायलाई रोक्न सक्छ भन्ने मलाई विश्वास छैन”, मध्यगाजा पट्टी सहरमा एएफपीले भेटेको मोहम्मद सालेहले भन्नुभयो ।

आफ्नो फैसलामा आईसीजेले इजरायललाई रफाहमा सम्पूर्ण वा आंशिकरूपमा भौतिक विनाश ल्याउन सक्ने आफ्नो सैन्य आक्रमण तुरुन्तै रोक्न र आदेश दियो र गाजामा हमासले बन्धक बनाएकाको “तत्काल र बिना शर्त रिहाई”को लागि पनि आह्वान गर्यो ।

इजरायली सेनाले शुक्रबार उत्तरी गाजामा शव बरामद भएका तीन जना बन्धकहरु चानान याब्लोन्का, ब्राजिलियन-इजरायली मिशेल निसेनबाम र फ्रान्सेली-मेक्सिकन ओरियन हर्नान्डेज राडोक्सको अक्टोबर ७ को आक्रमणमा हत्या भएको र उनीहरूको शव गाजा लगिएको बताएको छ ।

पेरिसमा गाजा द्वन्द्वको विषयमा एकातिर सीआईए प्रमुख र इजरायली प्रतिनिधि र अर्कोतिर फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र चार प्रमुख अरब राज्यका विदेशमन्त्रीबीच आयोजित बैठक अघि अदालतको यो आदेश आएको हो ।

इजरायलले रफाह अपरेसन सुरु गरेको केही समयपछि अमेरिका, इजिप्ट र कतारी मध्यस्थकर्तासँगको युद्धविराम वार्ता समाप्त भएको थियो । यद्यपि युद्ध मन्त्रिपरिषद्ले यस हप्ता इजरायली प्रतिनिधिमण्डललाई “बन्धकको फिर्तीका लागि वार्ता जारी राख्न” आग्रह गरेको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जानकारी गरायो ।

सीआइए प्रमुख बिल बर्न्सले वार्ता पुनःसुरु गर्ने प्रयासमा पेरिसमा इजरायली प्रतिनिधिलाई भेट्ने अपेक्षा गरिएको यस मुद्दासँग नजिक पश्चिमी स्रोतले बताएको हो ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले छुट्टै कतारका प्रधानमन्त्री र साउदी, इजिप्ट र जोर्डनका विदेशमन्त्रीलाई शुक्रबार “युद्धविरामका लागि दबाब दिन” आग्रह गर्नुभयो । र पाँच देशले दुई-राज्य बीचको सम्बन्ध समाधानका तरिकाको प्रभावकारी कार्यान्वयनबारे छलफल गरेको कायरोले जानकारी गराएको हो ।

विश्वव्यापी विरोधलाई बेवास्ता गर्दै इजरायली सेनाले इजिप्टसँगको राफाह सीमा पार गर्ने प्यालेस्टाइनतर्फको रफाह सीमामा कब्जा गर्यो र गाजाको २.४ मिलियन मानिसका लागि मानव सहायताको उपलब्धीलाई थप सुस्त बनाएको थियो ।

शुक्रबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीले आफ्ना अमेरिकी समकक्षी जो बाइडेनसँगको वार्तामा दक्षिणी गाजामा अर्को प्रवेश बिन्दु केरेम शालोम क्रसिंगमार्फत संयुक्त राष्ट्र सहयोग भित्र्याउने अनुमति दिन सहमत हुनुभएको ह्वाइट हाउसले बताएको हो ।

यस क्षेत्रको सुरक्षा र मानवीय अवस्था चिन्ताजनक । विगत दुई हप्तामा करीब आठ लाख मानिस राफाहबाट विस्थापित भएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

“गाजाका जनताले अनिकालको सामना गरिरहेका बेला विगत सात महिनामा गरिएको आह्वानलाई ध्यानमा राख्नु महत्त्वपूर्ण छ । बन्धकलाई रिहा गर्नुहोस्, युद्धविराममा सहमत हुनुहोस् र यो दुःस्वप्न अन्त्य गर्नुहोस् ।” संयुक्त राष्ट्रसङ्घका मानवतावादी प्रमुख मार्टिन ग्रिफिथले भन्नुभयो ।

Facebook Comments