Fri. Nov 15th, 2024

दिवङ्गत सुरक्षाकर्मी र नागरिकका परिवारलाई राहत उपलब्ध गराइनेछ : गृहमन्त्री खाण   

काठमाडौं, २०७९ मंसिर १५ गते बिहीबार । गृहमन्त्री बालकृष्ण खाणले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कर्तव्य निर्वाह गर्ने क्रममा दिवङ्गत हुनुभएका सुरक्षाकर्मी र नागरिकका परिवारलाई नेपाल सरकारले राहत उपलब्ध गराउने बताउनुभएको छ ।

केन्द्रीय सुरक्षा समितिको आज बसेको बैठकमा उहाँले सम्बन्धित सबैको अपूर्व योगदानले नै निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै निर्वाचनले संविधानलाई बल पु-याएको बताउनुभययो । आवधिक निर्वाचन लोतकन्त्रको सबल र सुन्दर पक्ष भएको बताउँदै मन्त्री खाणले यस दायित्वलाई नेपाल सरकारले पूरा गरेको अवगत गराउनुभयो ।

यो दायित्व पूरा गर्ने सबैलाई धन्यवाद दिँदै उहाँले कर्तव्य निर्वाह गर्ने क्रममा दिवङ्गत हुनुभएका सुरक्षाकर्मी र नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँहरूको परिवार भरणपोषणका लागि सरकारले राहत उपलब्ध गराउने जानकारी दिनुभयो ।

निर्वाचनका क्रममा भएका राम्रा पक्षलाई आगामी दिनमा अवलम्बन गरिँदै जाने र कमी-कमजोरीलाई सुधार्दै लैजाने उल्लेख गर्दै मन्त्री खाणले सीमित स्रोत साधान बाबजुद सुरक्षाकर्मीले अहोरात्र खटिई कर्तव्य पूरा गरेकामा विशेष धन्यवाद दिनुभयो । निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले निर्माण गर्ने नयाँ सरकार जनताको इच्छा आकाङ्क्षा पूरा गर्ने काममा अघि बढ्ने उहाँको विश्वास थियो । रासस

Facebook Comments