Fri. Sep 20th, 2024

रघुवीर महासेठ तेस्रो पटक संसद प्रवेश गर्दै

काठमाण्डौं,  २०७९ मंसिर १३ गते मंगलबार । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रतिनिधिसभा सदस्यमा धनुषा-४ मा विजयी भएपछि तेस्रो पटक संसदीय यात्रा तय गर्नुभएको छ ।

निर्वाचन आयोगका अनुसार महासेठले ३२ हजार २ सय ३६ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले ३२ हजार १ सय १२ मत प्राप्त गर्नुभयो ।

महासेठ २०६५ सालमा संविधानसभा सदस्य उपनिर्वाचनमा धनुषा ५ बाट निर्वाचित हुनुभएको थियो । उहाँले संविधानसभा र तत्कालीन व्यवस्थापिकामा विभिन्न समितिमा रहेर जिम्मेवारी निर्वाह गर्नुभएको थियो भने । उहाँ २०७४ सालमा संघीय संसद प्रतिनिधिसभा सदस्यमा धनुषा-४ बाट विजयी हुनुभएको थियो ।

जनकपुर उपमहानगरपालिका २, धनुषामा बाबु मखन र आमा मायावती महासेठको कोखबाट २०१८ साल साउन २२ गते जन्मनुभएका महासेठ हाल नख्खु, ललितपुरमा बस्नुहुन्छ । उहाँकी पत्नी जुलीकुमारी महतो र एक छोरा, एक छोरी हुनुहुन्छ । उहाँले बि.ई(सिभिल इन्जिनियरिङ) अध्ययन गर्नुभएको छ ।

एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिययन (अनरास्ववियु)बाट औपचारिकरुपमा महासेठ राजनीतिमा प्रवेश गर्नुभएको थियो ।

उहाँ २०३७ सालमा अनेरास्ववियुको प्रथम पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष निर्वाचित हुनुभएको थियो । वि.सं.२०३३ सालमा तत्कालीन नेकपा (माले)को सदस्यता लिएर पार्टीगत राजनीति औपचारिक सुरुवात गर्नुभएको थियो भने र २०५४ सालदेखि एमालेको केन्द्रीय भएर काम गर्नुभएको थियो । वि.सं. २०७६ सालमा उहाँ एमालेको स्थायी कमिटी सदस्य हुनुभएको थियो ।

रासस का अनुसार महासेठले २०६८ सालमा जलस्रोत तथा सिँचाइमन्त्री र २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारीमा काम गर्नुभएको थियो ।

उहाँले २०५१ सालमा उदयपुर सिमेन्ट उद्योगको कार्यकारी अध्यक्ष भएर पनि काम गर्नुभएको थियो । उहाँको विशेष रुचिको क्षेत्र विकास, खेलकुद हो ।

राजनीतिक आन्दोलनको क्रममा पटकरपटक गरी १३ महिना थुना र जेल जीवन बिताइसक्नुभएको छ ।

Facebook Comments