सुडानको जनजाति द्वन्द्वमा २८७ जनाको मृत्यु
खार्तूम, २०७९ कात्तिक १४ गते सोमबार । सुडानको दक्षिणपूर्वी ब्लू नाइल राज्यमा जनजातीय द्वन्द्व भएको छ । उक्त द्वन्द्वमा कम्तीमा २८७ जनाको मृत्यु भएको छ भने अन्य २३९ जना घाइते भएको स्थानीय अधिकारीले पुष्टि गरेका छन् ।
पीडितको संख्या अझै बढ्ने अपेक्षा गर्दै ब्लू नाइल राज्यका स्वास्थ्य मन्त्री जमाल नसिरले एक विज्ञप्तिमा उक्त घटनाको नयाँ सर्वेक्षण गरिने बताउनु भएको छ ।
उक्त घटनामा जलेका धेरै शवहरू फेला परेका छन् । फरेन्सिक मेडिसिन टोलीले उक्त घटना हतियारको आक्रमणबाट वा कुटपिटबाट भएको हो भन्ने कारण पत्ता लगाउन आनुसन्धान गरिरहेको छ ।
अक्टोबर १९ र २० मा उक्त राज्यमा हौसा र बर्टा जनजातिहरूबीच झगडा भएको थियो । जनजातिहरू बीचको झगडा जग्गाको स्वामित्वको विवादका कारण निम्तिएको थियो भने अक्टोबर २१ मा ब्लू नाइल राज्यका गभर्नर अहमद एल ओमदा बादीले राज्यमा आदिवासी लडाइँहरूको अनुसन्धान गर्न तथ्य खोजी समिति गठन गर्ने निर्णय जारी गर्नु भएको थियो ।
गभर्नरले ब्लू नाइल क्षेत्रका सबै भागहरूमा ३० दिनसम्म आपतकालीन अवस्था घोषणा गर्ने आदेश जारी गर्नु भएको छ । एजेन्सी