Thu. Sep 19th, 2024

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी जावलाखेलमा

रमेश हतुवाली/ललितपुर, २०७९ कात्तिक ३ गते बिहीबार । “रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि” भन्ने नाराका साथ १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी, २०७९ आज ललितपुरको जावलाखेलमा सुरु भएको छ ।

नेपाललाई फूलमा आत्मनिर्भर बनाउने र नेपाली फूलको व्यापार विश्वस्तरमा पुर्याउने उद्धेश्यका साथ आयोजना गरिएको सो प्रदर्शनीको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्घाटन गर्नुभयो ।

सो अवसरमा बोल्नु हुँदै अध्यक्ष गोल्छाले फूल मानवजातीलाई खुशी बनाउन प्रकृतिले दिएको वरदान भएकोले फूल उत्पादनमा संलग्न व्यवसायीहरुलाई सम्मान गर्नुपर्ने बताउनु भयो । फूल खेतीको लागि लगानी र प्रविधि आवश्यक भएकोमा जोड दिनुहुँदै अध्यक्ष गोल्छाले नेपालजस्तो विविध हावापानी भएको देशमा विश्वका कुनै पनि देशमा हुने फूलहरु उत्पादन गरेर निर्यात गर्न सकिने प्रशस्त सम्भावना भएको बताउनु भयो । विश्वमा सबैभन्दा धेरै फूल निर्यात गर्ने नेदरल्याण्डले वर्षेनी ५० हजार करोडको व्यापार गरिरहेको भन्दै नेपालले पनि फूलको क्षेत्रमा लगानी गरेर त्यस्तै प्रतिफल प्राप्त गर्नुपर्ने बताउनु भयो ।

कृषि विभागका उपमहानिर्देशक डक्टर हरि बहादुर केसीले फूलहरुको उत्पादनमा लगानी गर्दा त्यसले रोजगारी सृजना गर्ने र फूलको निर्यातबाट देशको अर्थतन्त्र पनि वलियो हुने भएकोले फूलको उत्पादनमा लगानी बढाउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।

वरिष्ठ कलाकार हरिवंश आचार्यले देवता, मानिस, पितृ सबैको लागि फूल प्रिय भएको र जुनसुकै धर्म र समुदायका लागि पनि फूल आवश्यक भएकोले फूलको उत्पादनमा नेपाल आत्मनिर्भर मात्र नभएर आय आर्जन बढाउनमा पनि सरकार लाग्नुपर्ने बताउनु भयो ।

कार्यक्रमा बोल्दै फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मिनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलमा कमी आउने बताउनु भयो । उहाँले नेपालमा अहिले ९० प्रतिशत फूलमा आत्मनिर्भर भएको बताउनु भयो । अध्यक्ष तामाङले तिहारमा विशेषगरी शहरी क्षेत्रमा करिव ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको बताउनु भयो ।

उहाँले विगतका वर्षहरुमा तिहारमा सयपत्री फूल भारतका विभिन्न नाकाहरुबाट आयात हुने गरेको भएपनि यो वर्ष रोक लगाएको बताउनु भयो । उहाँले सयपत्री फूलको उत्पादनले ग्रामिण क्षेत्रमा भने शत प्रतिशत नै धान्ने गरेको बताउनु भयो । उहाँले नेपाल ९० देखि ९१ प्रतिशत पुष्प व्यवसायमा आत्मनिर्भर रहेको भन्दै चाडपर्व र चिसो मौसमको समयमा मात्रै आयात गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले १० प्रतिशत आयात गर्नुपर्ने अवस्था अझै १० वर्ष कायम रहने दाबी गर्नुभयो ।

प्रदर्शनी आयोजक संस्था फ्लोरिकल्चर एशोसिएशन नेपालका उपाध्यक्ष तथा प्रदर्शनीका संयोजक सीताराम पन्तका अनुसार मेलामा ५५ वटा स्टलहरु रहेका छन् ।

कात्तिक ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ३७ हजार मानिसहरुले अवलोकन गर्ने र झण्डै ८० लाखको कारोवार हुने जानकारी दिनुभयो ।

फोटो सर्वाधिकार : रमेश हतुवाली

Facebook Comments