Thu. Sep 19th, 2024

ललितपुरको पाटन दरवार स्क्वायरमा चीनको आसाधारण दशक विषयक फोटो प्रर्दशनी, चीनको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको पर्यटनमन्त्री श्रेष्ठको भनाइ ।।

रमेश हतुवाली/ललितपुर, २०७९ कात्तिक ३ गते बिहीबार । चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनलाई लक्ष्यित गर्दै ललितपुरको पाटन दरबार स्क्वायरमा “चीनको आसाधारण दशक विषयक फोटो प्रर्दशनी”को आयोजना गरिएको छ ।

फेन्डस् अफ सिल्क रोड क्लव नेपालले आयोजना गरेको सो फोटो प्रदर्शनीको उद्घाटन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताउनु भयो । मन्त्री श्रेष्ठले चीनको विकासले नेपाल पनि लाभान्वित हुने भन्दै नेपालको विकासमा चीन सरकारले गरेको सहयोग अविष्मरणीय रहेको बताउनु भयो । उहाँले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई चीन सरकारले गरेको सहयोगको स्मरण गर्नुभयो । साथै मन्त्री श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनको पूर्ण सफलताको लागि शुभकामना समेत दिनु भएको छ ।

कार्यक्रममा बोल्नु हुँदै नेपालस्थित चिनियाँँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ्ग सिनले विगत १० वर्षमा नेपाल–चीन सम्बन्ध तीव्र गतिमा विकसित भएको बताउनु भयो । सिनले चीन र नेपालका नेताहरूले घनिष्ठ अन्तरक्रियालाई कायम राखेको, दुई देशबीचको राजनीतिक तथा पारस्परिक विश्वास सुदृढ हुँदै गएको, “बेल्ट एण्ड रोड“ परियोजनामार्फत उच्च गुणस्तरको संयुक्त निर्माण निरन्तर अगाडि बढेको पनि बताउनु भयो । कोरोना महामारीविरुद्ध दुवै देशले मिलेर काम गर्नुका साथै दुई देशबीच आर्थिक, व्यापारिक, सांस्कृतिक र साझा क्षेत्रमा पारस्परिक लाभकारी सहयोग रहेको बताउनु भयो । साथै उहाँले चीन–नेपाल विकास र समृद्धिका लागि चिरस्थायी मित्रता सहितको सहयोगको रणनीतिक साझेदारी फस्टाएको पनि स्पष्ट पार्नुभयो ।

नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्राध्यक्ष सी चिनफिंगको दशवर्षे कार्यकालमा चीनले गरिबी निवारण, भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनु भयो । साथै मैनालीले आफ्नो मात्र विकास नभएर विश्वका सबै देशहरुको विकासको पक्षमा रहने चिनियाँ कम्युनिष्ट पार्टीको जारी महाधिवेशनको सफलताको कामना समेत गर्नुभयो ।
कार्यक्रम आयोजक संस्था फेन्डस् अफ सिल्क रोड क्लब नेपालका अध्यक्ष डक्टर कल्याणराज शर्माले नेपाल र चीनबीच ऐतिहासिककालदेखि नै प्रगाढ सम्बन्ध रहेको बताउँदै फोटो प्रर्दशनीमा चीनकाराष्ट्राध्यक्ष सी चिनपिङको १० वर्षे कार्यकालमा चीनमा भएका महत्वपूर्ण विकास र प्रगतिलाई प्रदर्शन गरिएको जानकारी दिनुभयो । प्रदर्शनीमा ८० वटा फोटाहरु समावेश गरिएको जानकारी दिंदै शर्माले फोटो प्रदर्शनीको उद्देश्य नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत बनाउने रहेको रे टेलिभिजनलाई बताउनु भयो ।

Facebook Comments