Sat. Oct 19th, 2024

सञ्चारका नयाँ अनलाइनका माध्यमबाट झुटा र भ्रमपूर्ण सूचनाको प्रसार हुनु चुनौतीपूर्ण : राष्ट्रपति   

काठमाण्डौं, २०७९ असोज ७ गते शुक्रबार । राष्ट्रपति विद्यादेवी भण्डारीले सूचना र सञ्चारका क्षेत्रमा भएको नयाँ प्रविधिको विकाससँगै देखापरेको सञ्चारका नयाँ अनलाइनका माध्यमबाट झुटा र भ्रमपूर्ण सूचनाको प्रसार हुनु चुनौतीको विषय भएको बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालको ५३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विश्वव्यापी चुनौतीका रूपमा रहेको सञ्चारका अनलाइन माध्यमलाई बढी मर्यादित र प्रभावकारी बनाउनका लागि काउन्सिलले अनलाइन सञ्चालन गर्नुअघि अनिवार्य अभिमुखीकरणको व्यवस्था गरेकामा खुसी व्यक्त गर्नुभयो ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार भएको उक्त समरोहमा उहाँले पत्रकारिताको पेशागत आचरण कायम राखी स्वच्छ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकासका लागि प्रेस काउन्सिल स्थापना गरिएको स्मरण गर्दै त्यसका लागि उक्त संस्थाले निरन्तर भूमिका खेलिरहने पनि बताउनुभयो ।

पत्रकारको अभिभावक संस्था काउन्सिलले पत्रकार आचारसंहिताको पालना गर्ने पत्रकारलाई पुरस्कृत गर्ने र उल्लङ्घन गर्नेलाई कारवाही गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो ।

समारोहमा उहाँले संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र सुदृढ तुल्याउन संवैधानिक प्रावधानलाई राज्यका सबै अङ्गले गम्भीरतापूर्वक पालना गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र आगामी मङ्सिर ४ गते हुन लागेको सङ्घ तथा प्रदेशसभाको आवधिक निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न नागरिक समुदायका रूपमा रहेको पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

निर्वाचन सफल बनाउन सरकारले पत्रकारसँग ठूलो अपेक्षा राखेको छ : सञ्चारमन्त्री कार्की     

समारोहमा सञ्चार तथा सूचना प्रविधमिन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लोकतन्त्रको जगका रूपमा रहेको स्थानीय सरकार निर्माण भइसकेको स्मरण गर्दै आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा पत्रकारको अझै ठूलो योगदानको अपेक्षा रहेको बताउनुभयो ।

मन्त्री कार्कीले भन्नुभयो, “हामी अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सङ्घारमा छौँ, तपाईं पत्रकार र प्रेस काउन्सिलको अझै बढी योगदान समाजले चाहेको छ, सरकार स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीयरूपमा निर्वाचन सम्पन्न गराई जनमतमार्फत मुलुकलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउने आकाङ्क्षालाई सफल बनाउन प्रतिबद्ध छ ।” उहाँले त्यसका लागि सकारात्मक योगदान गर्न आग्रह गर्नुभयो ।

उहाँले मञ्चमा आएर कर्तव्य र अधिकारको कुरा गर्न सहज हुने उल्लेख गर्दै तर त्यसलाई व्यवहारमा परिणत गर्न कठिन हुने भएकाले कार्यान्वयनतर्फ लाग्न ध्यानाकर्षण गराउनुभयो ।

प्रेस काउन्सिल कुन उद्देश्यका साथ स्थापना भएको हो र त्यो उद्देश्यमा काउन्सिल कति अघि बढेको छ, अहिलेको समयको चुनौतीलाई सामना गर्न कति सक्षम छ, त्यसतर्फ पनि विश्लेषण गर्नु जरुरी रहेको उहाँले औँल्याउनुभयो । मन्त्री कार्कीले काउन्सिलप्रति समाजले अझै धेरै अपेक्षा गरेको बताउँदै प्रेरणाको स्रोत बन्न युवा पत्रकारलाई आग्रह गर्नुभयो ।

निष्पक्षता तथा तथ्यमा नै शङ्का हुनेगरी मिडियामा सामग्री आउँदा विश्वसनीयता नै खलबलियो : अध्यक्ष बस्नेत    

समारोहमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राष्ट्रभित्र विविध समस्या उत्पन्न भएकाले राष्ट्रियताका सवालमा होस् वा देश निर्माणको अन्य अभियानमा सबै राजनीतिक शक्ति गम्भीर र सचेत हुनुपर्नेमा जोड दिनुभयो । उक्त अभियान सफल बनाउन सञ्चार जगत्को महत्वपूर्ण भूमिका हुने उहाँको भनाइ थियो ।

उहाँले मुलुकमा देखिएको नकारात्मक चिन्तनलाई सहमतिको बाटोमा ल्याउन भूमिका खेल्नुपर्ने भएकाले पर्याप्त ध्यान पु¥याउन सबै सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

अध्यक्ष बस्नेतले को पत्रकार हो र को होइन भन्ने छुट्याउन गाह्रो भएको तथा निष्पक्षता एवं तथ्यमा नै शङ्का हुने गरी मिडियामा सामग्री आउँदा विश्वसनीयता नै खलबलिएको बताउनुभयो । त्यसैले मिडियालाई बलियो बनाउनका लागि पनि विश्वसनीय पत्रकारिताको खाँचो रहेको उहाँले औँल्याउनुभयो । रासस

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले प्रेस काउन्सिल नेपालको ५३ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह २०७९ लाई गर्नु भएको सम्बोधन

माननीय सूचना तथा सञ्चार प्रविधि मन्त्री,

प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा पदाधिकारीहरू,

आज सम्मानित तथा पुरस्कृत पत्रकारहरू,

राष्ट्रसेवकहरू,

भद्रमहिला तथा सज्जनवृन्द !

प्रेस काउन्सिल नेपालको ५३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित यस कार्यक्रममा उपस्थित सबैलाई राष्ट्रपति भवनमा स्वागत गर्दै काउन्सिल परिवारलाई हार्दिक बधाई र शुभकामना प्रकट गर्दछु । साथै‚ आज पुरस्कृत तथा सम्मानित हुने पत्रकारहरूलाई हार्दिक बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

लोकतन्त्र र आमसञ्चार क्षेत्रको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका परिसूचक हुन् । राज्यको चौथो अङ्गको रूपमा समाजले सम्मान प्रदान गरेको पत्रकारिता क्षेत्रले जिम्मेवारीपूर्ण‚ सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र विश्वसनीयता कायम राख्न सक्दछ ।

तसर्थ‚ पत्रकारिताको पेशागत आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास एवं संवर्द्धनका लागि अविछिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थाको रूपमा प्रेस काउन्सिल नेपालको स्थापना भएको हो । प्रेस काउन्सिल नेपालले यसका लागि निरन्तर रूपमा भूमिका खेलिरहेको छ भन्ने मलाई लागेको छ ।

प्रेस काउन्सिल नेपाल सबै पत्रकारको अभिभावक संस्था पनि हो । काउन्सिलले पत्रकार आचारसंहिताको नियमित अनुगमन गर्दै आएको छ । यसले आचारसंहिताको पालना गर्ने पत्रकारलाई पुरस्कृत गर्ने र उल्लङ्घन गर्नेलाई कारबाही गर्ने समेत काम गर्दै आएको छ ।

काउन्सिलद्वारा उच्च व्यवसायिक आचरण पालना गर्ने मर्यादित पत्रकारहरूको छनौट गरी ‘गोपालदास पत्रकारिता पुरस्कार’ लगायत विभिन्न पुरस्कारबाट पुरस्कृत गर्दै आएको कुरालाई यसै सन्दर्भमा हेरिनु पर्दछ भन्ने मलाई लागेको छ ।

सूचना र सञ्चारको क्षेत्रमा भएको नयाँ प्रविधिको विकाससँगै देखा परेका सञ्चारका नयाँ अनलाइन माध्यमबाट झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौति बनिरहेको छ । यस सन्दर्भमा‚ प्रेस काउन्सिल नेपालले सञ्चारका अनलाइन माध्यमहरूलाई बढी मर्यादित र प्रभावकारी बनाउनले उद्देश्यले अनलाइन दर्ता गर्नुअघि अनिवार्य अभिमुखीकरणको व्यवस्था गरेकोमा मलाई खुसी लागेको छ ।

यसैगरी‚ काउन्सिलले फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालमा बेथिति बढ्दै गएको हुँदा सोको नियमनका लागि समेत कार्यदल गठन गर्न र सो कार्यदलले दिएको सुझावका आधारमा आवश्यक नीतिगत निर्णय गर्न सम्बद्ध मन्त्रालयलाई सुझाव पेस गरेको कुरा मैले सुनेको छु । यस सम्बन्धमा नेपाल सरकारले आवश्यक निर्णय गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।

भरखरै हामीले आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाएका छौँ । हाम्रो संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र सुदृढ तुल्याउन संवैधानिक प्रावधानहरूलाई राज्यका सबै अङ्गहरूले गम्भीरतापूर्वक पालना गर्नु पर्दछ ।

हामीले केही महिनाअघि मात्र स्थानीय तहको निर्वाचन सम्पन्न गरेका छौँ भने आगामी मङ्सिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुन गइरहेको छ । लोकतन्त्रको आत्माको रूपमा रहेको आवधिक निर्वाचनलाई शान्तिपूर्ण‚ निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न समाजको जागरुक समुदायको रूपमा रहेको पत्रकार जगतले प्रभावकारी भूमिका निर्वाह गर्नेछ भन्ने म विश्वास व्यक्त गर्दछु ।

अन्तमा‚ नेपालको आमसञ्चार क्षेत्रलाई व्यवस्थित‚ उत्तरदायी र मर्यादित बनाउन प्रेस काउन्सिल नेपाल आगामी दिनमा थप सशक्तताका साथ अगाडि बढ्न सकोस् भन्ने सुभेच्छा प्रकट गर्दछु । विभिन्न विधामा पुरस्कृत पत्रकार एवं व्यक्तित्वहरूलाई पुन: बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।

धन्यवाद ।

२०७९ असोज ६ गते बिहीबार

राष्ट्रपति भवन‚ महाराजगञ्ज‚ काठमाडौँ

 

Facebook Comments