Sat. Oct 19th, 2024

पाकिस्तानमा बाढीपहिरोले ठूलो क्षति, राष्ट्रिय सङ्कट घोषणा

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं १० गते शुक्रबार । पाकिस्तानमा लगातारको बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएर मानवीय तथा भौतिक क्षति भएकाले राष्ट्रिय सङ्कट घोषणा गरिएको छ ।

बिहीवार राष्ट्रिय संकट घोषणा गर्दै सरकारले आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रित गरिने जनाएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो समय भएका बाढी पहिरोका घटनामा परी ९ सय ३७ जनाको मृत्यु भएको छ । ती मध्ये ३ सय ४३ जना बालबालिका रहेका छन् । त्यसैगरी बाढी पहिरोका कारण अरु हजारौँ मानिस घाइते तथा विस्थापित भएका छन् भने लाखौँ मानिस प्रभावित भएका छन् ।

पाकिस्तानी सरकारी अधिकारीहरुका अनुसार बाढीपहिरो गएका ठाउँमा उद्धार तथा राहतका लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरिएको छ । घटनास्थल दयनीय अवस्था रहेकाले धेरै सहयोग सामग्रीहरुको आवश्यकता रहेको उनीहरुले बताएका छन् । बाढी पहिरोले धेरै क्षति गरेकाले अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको अपेक्षा समेत गरिएको उनीहरुले बताएका छन् ।

पाकिस्तानमा पछिल्लो समय गत जुन १४ देखि बाढी पहिरोका घटना बढेका छन् । (एजेन्सीको सहयोगमा)

Facebook Comments