Sat. Oct 19th, 2024

प्रचण्ड र सम्पाङबीच बार्ता, प्रचण्डद्वारा खुलेरै मेयर सम्पाङको प्रशंसा

काठमाण्डौं, २०७९ भदौं १० गते शुक्रबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ राईको खुलेरै प्रशंसा गर्नुभएको छ ।

मेयर राईको निम्तामा शुक्रवार सर्दुखोला जलाधार क्षेत्रमा वृक्षरोपण कार्यक्रममा सहभागी हुँदै अध्यक्ष प्रचण्डले मेयर राईको कामको प्रशंसा गर्नुभएको हो । ‘हामीले गर्नुपर्ने काम धरानका मेयर हर्क राईले गरिरहनु भएको छु’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘कम्युनिस्ट पार्टीले गर्नुपर्ने काम मेयर राईले गरिरहनु भएको छ ।’

आफूले मेयर राईको कामलाई निरन्तर रूपमा हेरिरहेको बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी कम्युनिस्टहरू, अझै माओवादीले गर्नुपर्ने काम उहाँले गरिरहनुभएको छ । म पार्टीका साथीहरू र देशका सबै श्रमजीवी जनतालाई पनि हर्कजीको काम र आचरणबाट प्रेरणा लिन अनुरोध गर्दछु ।’

मेयर राई र उपमेयर अइन्द्रविक्रम बेघाको जोडी असाध्यै मिलेको पनि उहाँले बताउनु भयो । धरानमा मेयर स्वतन्त्रबाट राई र उपमेयर माओवादीबाट बेघाले चुनाव जित्नु भएको थियो ।

अहिले गरिरहेका कामलाई निरन्तरता दिन प्रचण्डले मेयर राईलाई सुझाव दिनुभयो । ‘हर्कजीले अहिले गरिरहेको कामलाई निरन्तर रूपमा अगाडि बढाउनु पर्‍यो । मेरो शुभकामना छ । डटिराख्नुहोस् र जनतासँग जोडिइराख्नुहोस् । जनताको साथ पाइराख्नुहोस् । मेरो र हाम्रो साथीहरूको साथ छँदै छ ।’
Facebook Comments