Sat. Oct 19th, 2024

राष्ट्रपति भण्डारीको पछिल्लो गतिविधिले आशंका पैदा गर्यो : नेता नेपाल

काठमाण्डौं, २०७९ भदौं ९ गते बिहीबार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो गतिविधिले आशंका पैदा भएको बताउनु भएको छ ।

पार्टी पुनर्गठन दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले राष्ट्रपति भण्डारीको पछिल्लो गतिविधिका बारेमा गठबन्धन बैठकमा पनि छलफल भएको र कतै अनिष्ट त हुन लागेको होइन भन्ने प्रश्न उठेको बताउनु भयो ।

पूर्वआर्मी चिफ बोलाएर भोज दिने राष्ट्रपतिको कार्यले शंका जन्माएको नेपालको भनाई छ । अध्यक्ष नेपालले अहिले दरबारवाला र राजावादी शक्ति कति क्रियाशील छन् भन्ने पनि हेरिरहेको जिकिर गर्नुभयो । गठबन्धन बैठकमा यसअघिको स्थानीय चूनावमा आफ्नो पार्टीको मतलाई अवमूल्यन गर्न खोजिएको र आफुहरुले ध्यानाकर्षण गराएको नेपालले जानकारी दिनुभयो । २७ प्रतिशत सिटमा उम्मेदवारी दिँदा ९ लाख २७ हजार भोट पाएको भन्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा १५ देखि २० लाख मत पाए १५/२० वटा सिटलाई कसैले रोक्न नसक्ने दावी गर्नुभयो । नेपालले आगामी निर्वाचनमा गठबन्धनको मात्रै भर नपर्न र आफ्नो तयारीलाई पनि तीव्र पार्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

अध्यक्ष नेपालले यसअघि पार्टीभित्रको गुटबन्दी र व्यक्तिबाद हावी भएका कारण नै आफुहरुले बिद्रोह गर्नुपरेको बताउनु भयो । कम्युनिष्ट भित्र अझै पनि व्यक्तिवादी प्रवृति देखिएकाले सवै सजक हुनुपर्ने उहाँको भनाई छ ।

Facebook Comments