Sat. Oct 19th, 2024

प्रधानमन्त्रीद्वारा गिरीको निधनप्रति दुःख व्यक्त

- प्रदीप गिरीको आज अन्त्येष्टि गरिँदै

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं ५ गते आईतबार । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले एक ट्विट गर्दै भन्नुभएको छ, “नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु ।”

उहाँले नेता गिरीको निधनले नेपालको एक सच्चा र असल नेता गुमाएको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले दिवंगत नेता गिरीको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

प्राप्त समाचार अनुसार गिरीको आज अन्त्येष्टि गरिँदै छ । ७४ वर्षको उमेरमा शनिबार राति ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरीको आज हिन्दू संस्कार अनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

अन्त्येष्टि गर्नुअघि उहाँको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा बिहान ९ देखि ११ बजेसम्म र त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ ।

Facebook Comments