Sat. Oct 19th, 2024

शेयर बजारमा दोहोरो अङ्कको हरियाली

काठमाण्डौं, २०७९ साउन २२ गते आईतबार । आज शेयर बजार दोहोरो अङ्कले बढेको छ । आइतबार नेप्से परिसूचक १०.२७ अङ्कले बढेर २१२३.८२ को विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७६ प्रतिशतले बढेर ४०९.५६ को विन्दुमा पुगेको छ । आज कूल २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता शेयर २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २ सय ३२ रुपैयाँमा खरिद-विक्री भएको छ ।

आज १३ वटै सूचकहरूमध्ये १२ वटा बढेका छन् भने एउटा घटेको छ । आज कारोबार भएका सूचकहरूमा व्यापार १.७५, बैंकिङ ०.०२, होटल तथा पर्यटन २.१६, विकास बैंक १.३८, जलविद्युत् १.०३,  फाइनान्स १.८ माइक्रोफाइनान्स ०.५८,  म्युच्युअल फन्ड ०.०२, वित्त समूह १.८  र अन्य १.४३ प्रतिशतले  बढेका छन् । आज मनकामना स्मार्ट लघुवित्त र तेह्रथुम पावरको शेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। उपकार लघुवित्तको शेयर मूल्य ९.१३ प्रतिशतले बढेको छ ।

आज जीवन बीमा समूह ०.०५ प्रतिशतले ओरालो लागेको छ । आज नयाँ सारथी लघुवित्त, सामलिंग पावर र ग्रामीण विकास लघुवित्तका शेयरधनीहरूले धेरै गुमाएका छन् । यी सबै कम्पनीहरूको शेयर मूल्य ३ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन् ।

आज शिवम् सिमेन्टको सर्वाधिक १३ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नबिल बैंकको १२ करोड ७३ लाख , फरवार्ड लघुवित्तको ९ करोड ९२ लाख, एसियन लाइफ इन्स्योरेन्सको ८ करोड १० लाख, हिमालयन डिस्ट्रिलरीको ६ करोड ६८ लाख, साहस ऊर्जाको ६ करोड , नेपाल टेलिकमको ५ करोड २३ लाख, अपी पावरको ४ करोड ६८ लाख र गोर्खाज फाइनान्सको ४ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएका छन् ।

Facebook Comments