Sat. Oct 19th, 2024

नो हर्न अभियान पुन: सञ्चालन

काठमाण्डौं, २०७९ साउन २२ गते आईतबार । काठमाडौं उपत्यकामा ‘नो हर्न’ कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडि बढाइएको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नो हर्न अभियानलाई अघि बढाएको हो । काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाण्डौं महानगर प्रमुख बालेन्द्र शाहले नो हर्न लेखिएको पहेँलो स्टिकर एक अर्काको सवारी साधनमा टाँसेर कार्यक्रमको समुद्घाटन गर्नु भएको हो ।

नो हर्न अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्ताहरुमा सचेतना फैलाउनका लागि पद्मकन्या बहुमुखी क्याम्पसका एक सय जना विद्यार्थी १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन् ।  हर्नले ध्वनि प्रदूषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले नो हर्न कार्यक्रमलाई निरन्तरता दिनका लागि यो कार्यक्रम पुनः सुरु गरिएको काठमाडौँ महानगर प्रमुख शाहले बताउनुभयो  ।

काठमाण्डौं उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणका लागि २०७४ साल वैशाख १ गतेबाट नो हर्न लागू गरिएको थियो । सो अनुसार अत्यावश्यक पर्दाबाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको छ ।

Facebook Comments