Sat. Oct 19th, 2024

नागरिकता विधेयक, एमसीसी र एसपीपी सम्झौताविरुद्ध नेकपा समाजवादीको विरोध प्रदर्शन

काठमाण्डौं, २०७९ साउन १८ गते बुधबार । नेपाल कम्युनिष्ट पार्टी समाजवादीले हालै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट स्वीकृत नागरिकता विधेयक प्रमाणिकरण नगर्न तथा अमेरिकासँग गरिएका एमसीसी र एसपीपी लगायतका सम्झौता खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । समाजवादीले काठमाडौंको असन चोकमा एक सभाको आयोजना गर्दै विरोध प्रदर्शन गरेको हो । विरोधसभालाई सम्वोधन गर्दै नेकपा समाजवादीका अध्यक्ष राजु कार्कीले नागरिकता विधयकले नेपालको राष्ट्रियतालाई कमजोर बनाउने भन्दै वर्तमान सरकारले नेपाललाई फिजीकरण र सिक्किमीकरण गर्न लागेको बताउनु भयो

असन चोकबाट सुरु भएको विरोध कार्यक्रम न्यूरोड, जमल हुँदै पुनः असन चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपा समाजवादीका महासचिव तथा प्रवक्ता मानबहादुर तामाङ्गले वर्तामान सरकारले गरेका राष्ट्रिय हित विपरीतका सम्झौताहरुले नेपाललाई विश्व शक्तिहरुको भू–राजनीतिक शक्ति संघर्षको क्रीडास्थल बनाइन लागेको आरोप लगाउनु भयो ।

गत फागुन २७ गते प्रतिनिधिसभाको बैठकले १२ बुँदे व्याख्यात्मक घोषणासहित अमेरिकी अनुदान सम्झौता एमसीसी अनुमोदन गरेको थियो । यस्तै साउन ६ गते सरकारले ’नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ फास्ट ट्र्याक मार्फत प्रतिनिधिसभा र साउन १२ गते राष्ट्रियसभाबाट परित गरेको थियो । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउनेछ ।

२०७२ साल असोज ३ भन्दाअघि जन्मका आधारमा नागरिकता लिएका बाबु र आमाका सन्तान ले अब वंशजका आधारमा नागरिकता पाउने बाटो खुला भए पनि वैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा भने जनस्तरबाट व्यापक विरोध भइरहेको छ । कुनै विदेशी महिलाले नेपली पुरुषसँग विवाह गरेलगत्तै नेपाली नागरिकताका लागि निवेदन गर्न सक्ने प्रावधानले नेपालको राष्ट्रियता कमजोर हुने आम जनमानसको बुझाइ छ ।

Facebook Comments