Sat. Oct 19th, 2024

थाईवान(Tiwan) मामिलालाई उक्साउने गतिविधि अमेरिकाले तुरुन्तै बन्द गर्नुपर्छ

भिओके संवाददाता/काठमाण्डौं, २०७९ साउन १८ गते बुधबार । चीनको अभिन्न भूभाग थाइवान (Tiwan) मामिलामा शक्तिराष्ट्र अमेरिका र चीन आमनेसामने हुँदा विश्वसमुदायमा त्रासको वातावरण सिर्जना भएको छ । कुनै सन्दर्भ र प्रसंगविना अमेरिकी संसद्को तल्लो सदनका सभामुख न्यान्सी पेलोसीले विवादित भूमि थाईवानको भ्रमण गरेपछि चीन अमेरिकासँग नराम्ररी चिढिएको छ र उसले कडा टिप्पणी गर्दै चेतावनी समेत दिएको छ । पेलोसीको भ्रमणकै सन्दर्भ र त्यसबाट उत्पन्न परिस्थितले अहिले अमेरिका र चीन दुवै राष्ट्रले ताइवान वरिपरि ठूलो संख्यामा लडाकू विमान र युद्धपोतहरू तैनाथ गरेका समाचारहरू सार्वजनिक भइरहेका छन् ।

थाईवान मामिलालाई लिएर चीन र अमेरिकाबीचको यो तनाव पहिलो भने होईन। चीनले थाईवान टापुलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ र कुनै दिन यो भूभाग हङकङ जस्तै आफ्नो मूल भूमिमा समाहित हुने अपेक्षा गर्दछ । चीनले विद्रोही प्रान्तको रूपमा लिएको थाईवानलाई आवश्यक परे बल प्रयोग गरेर भए पनि कब्जामा लिन सकिने बताउँदै आएको छ । तर अमेरिका यसलाई मान्न तयार छैन । ताइवान मार्फत आफ्नो स्वार्थ सिद्ध गर्दै आएको अमेरिका ताइवानलाई कुनै पनि मूल्यमा मूल भूमिमा फर्कन नदिन त्यहाँका केही चीन विरोधी नेतालाई उकास्दै आइरहेको छ ।

इतिहासका पाना पल्टाउने हो भने थाईवान चीनको अभिन्न अंग भएकोमा किन्तु परन्तु भन्नुपर्ने अवस्था हुँदैन । तत्कालिन चीनका सामन्तवादी शासक च्याङ काई सेकको सत्तालाई सन् १९४९ अक्टोबर १ का दिन चिनियाँ कम्युनिष्ट क्रान्तिका नायक माओ चतोङको नेतृत्वमा भत्काएर नयाँ चीनको घोषणा भएलगत्तै च्याङ काई सेक आफ्ना विश्वासपात्र सेनाका केही हाकिम र सैनिकहरूसंगै भागेर थाईवान टापु पुगे र त्यसलाई उनीहरूले अमेरिकाको सुरक्षाघेरामा स्वतन्त्र राष्ट्र हो भनि दाबी गरे ।

अमेरिकाले त्यतिबेलादेखि नै थाईवानसँग अनौपचारिक रक्षासहित अन्य सम्बन्ध कायम राख्दै आएको छ । अमेरिकाको सहयोगमा थाईवानमा उनीहरूले विगत ७३ वर्षदेखि शासन गर्दै आइरहेका छन् । यद्यपि थाईवानी जनता अमेरिकाले बोकेको थाईवान सरकारको पक्षमा छन् भन्ने चाहिँ हैन । कतिपय सर्वेक्षणले त्यहाँका बहुमत जनसंख्या अहिलेकै अवस्थाको थाईवान चाहन्छन् भने सानो समूहले मात्रै स्वतन्त्र थाईवान चाहेको देखाएको छ । अमेरिकाले यही सानो समूहलाई मलजल गरिरहेको चिनियाँ पक्षको बुझाइ छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि थाईवानको रक्षा गर्न अमेरिकाले बल प्रयोग गर्न सक्ने प्रतिक्रिया दिइसकेका छन् ।

गत बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्राध्यक्ष सी चिनपिङको भर्चुअल भेट र त्यस क्रममा भएको संवाद थाईवान मामिलामै केन्द्रित भएको र त्यति सौहार्दपूर्ण नरहेको समाचार स्रोतहरूले खबर बाहिर ल्याएका छन् । करिब २ घण्टा १७ मिनेटसम्म चलेको उक्त भर्चुअल भेटमा बाइडेनसँग कठोर रूपमा प्रस्तुत हुँदै चिनियाँ राष्ट्राध्यक्ष सी चीनफिङले आगोसँग खेल्न खोज्नेहरू जल्छन् भनेर कडा चुनौती दिनुभएको थियो । यस्तै चीनका विदेशमन्त्री वाङ यीले मंगलबार ताइवान मुद्दामा ‘आगोसँग खेल्ने’ अमेरिकी राजनीतिज्ञहरूले ‘खराब परिणाम व्यहोर्नुपर्ने’ बताउनु भएको छ ।

पेलोसीको थाईवान भ्रमणकै प्रतिक्रिया स्वरूप चीनका परराष्ट्र उपमन्त्री स्ये फङले आकस्मिक रूपमा चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएर चीन सरकारको तर्फबाट अमेरिकी तल्लो सदनका सभामुख न्यान्सी पेलोसीले थाईवान भ्रमण गरेकोमा अमेरिकाको कडा विरोध गर्नुभएको छ।

उपमन्त्री स्ये फङका अनुसार, पेलोसीले जानाजानी उत्तेजना फैलाउँदै गम्भीर रूपमा एक चीनको नियम तथा चीन-अमेरिकाबीच तीन बुँदे संयुक्त विज्ञप्तिको उल्लंघन गरेर गम्भीर रूपमा चीन-अमेरिका सम्बन्धको राजनीतिक आधारलाई नष्ट पार्नु भएको छ । उहाँले गम्भीर रूपमा चीनको सार्वभौमिकता र प्रादेशिक अखण्डतालाई आघात पुर्‍याई ताइवान जल डमरुको स्थिरतालाई नष्ट पारी ‘ताइवान पृथकतावाद’लाई उचालेको भन्दै चीनको आपत्ति प्रकट गर्नुभयो । चीनले पेलोसीको गतिविधिलाई बेवास्ता नगर्ने उपमन्त्री स्ये फङले चेतावनी पनि दिनुभयो।

ताइवान चीनको ताइवान भएर मातृभूमिमा फर्कने उपमन्त्री स्येले जोड दिंदै कुनै पनि मुलुक, कुनै पनि शक्ति र कोही पनि व्यक्तिले यो पवित्र कार्यलाई भाँड्न नसक्ने बताउनुभयो ।  चिनियाँ सरकार तथा चिनियाँहरूको राष्ट्रिय सार्वभौमिकता र प्रादेशिक अखण्डताको संरक्षण गर्ने संकल्प र बलियो शक्तिलाई कम आँकलन नगर्न चीनले अमेरिकालाई बारम्बार सम्झाएको पनि उहाँले स्मरण गराउनुभयो ।

यी भनाइबाट पेलोसीको भ्रमणबाट चीन असाध्यै क्रूद्ध भएको बुझ्न सकिन्छ । ताइवानलाई सघाउने अमेरिका र बाइडेन प्रशासनको नीतिको विरुद्ध चीन कडा रूपमा प्रस्तुत हुन्छ भन्ने बुझ्न कठिन हुँदैन ।

कट्टर चीन विरोधी छवि बनाएकी पेलोसीको भ्रमणलाई बाइडेन प्रशासनको साथ र समर्थन छ भनेर बुझ्न सकिने यथेष्ट प्रमाण त छैन तर अमेरिकी संस्थापन पक्षको ग्रिन सिग्नलबिना उहाँले ताइवानमा पाइला टेकेकी होलिन् भनेर अनुमान गर्न सकिंदैन । पेलोसीको ताइवान भ्रमण २५ वर्षपछिकै उच्चस्तरको अमेरिकी नेतृत्वको औपचारिक भ्रमण हो । यो भ्रमणबाट अमेरिकाले ताइवानलाई एक्लै छाड्दैन र आवश्यक पर्दा सहयोग गर्छ भन्ने स्पष्ट सन्देश दिन खोजेको छ ।

पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीति अपनाइआएको नेपाल सधैं एक चीन नीतिप्रति प्रतिबद्ध रहँदै आएको छ । ताइवानलाई नेपालले सधैं जनवादी गणतन्त्र चीनको अभिन्न अंगको रूपमा अंगीकार गर्दै आएको छ । जुनसुकै व्यवस्था अन्तर्गतको नेपालको सरकार मात्र हैन यहाँका वैधानिक राजनीतिक पार्टीहरू पनि एक चीन नीतिप्रति प्रतिबद्ध रहँदै आएका छन् । चीनले आपत्ति जनाउँदा जनाउँदै अमेरिकी सभामुखले गरेको ताइवान भ्रमणको सन्दर्भमा पनि नेपालका दलहरूले यो असान्दर्भिक भएको र यसले चीन र अमेरिकाबीच मात्र तनाव बढ्ने नभई एसिया र समग्र विश्वमै असहज स्थिति उत्पन्न हुने प्रतिक्रिया दिएका छन् ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ रोहितले बुधबार एक वक्तव्य जारी गर्दै संयुक्त राज्य अमेरिका स्वयंले विगतमा एक चीन नीतिलाई स्वीकार गरेको यथार्थ जगजाहेर हुँदाहुँदै चिनियाँ मुख्य भूमिबाट ताइवानलाई अलग गराउने धम्कीपूर्ण अभिव्यक्ति दिनु निन्दनीय भएको जनाउनु भएको छ । वक्तव्यमा अगाडि उल्लेख छ, ‘’ताइवान चीनको अभिन्न अंग हो भन्नेबारे नेपाली शान्तिप्रिय जनता तथा कामदार जनता दृढ छन् । एसियाली र संसारका अन्य मानिसहरू झैं नेपाली जनता पनि युद्ध चाहँदैनन्, शीतयुद्ध अगाडि बढेको मन पराउँदैनन् । तसर्थ नेमकिपा र शान्तिकामी नेपाली जनता अमेरिकी सरकारको संसारका विभिन्न भाग र देशहरूमा झगडाको आगो झोस्दै हिंड्ने कार्यको विरोध एवं निन्दा गर्दछ ।‘’

अमेरिकी प्रतिनिधिसभाका सभामुख पेलोसीले चीनको कडा विरोधलाई वेवास्ता गरी चीनको ताइवान क्षेत्रको भ्रमण गर्नुभएपछि विभिन्न मुलुकका सरकारले त्यसको कडा निन्दा गर्नुका साथै एक चीन नीतिको अवधारणा पुनः दोहोर्‍याएका छन् ।

रूसको विदेश मन्त्रालयले वक्तव्य प्रकाशित गरी पेलोसीको ताइवान भ्रमणलाई सार्वजनिक उत्तेजनाको रूपमा लिएको उल्लेख गरेको छ । ताइवान विषय पूर्ण रूपमा चीनको आन्तरिक मामिला हो भने ताइवानका विषयमा आवश्यक कदम चालेर राष्ट्रिय सार्वभौमिकता र भौगोलिक  अखण्डताको संरक्षण गर्ने चीनको हैसियत रहेको उक्त वक्तव्यले उल्लेख गरेको छ ।

इरानी विदेशमन्त्रालयका प्रवक्ता कालानीले विभिन्न मुलुकको सार्वभौमिकतालाई सम्मान गर्नु नै संयुक्त राष्ट्र संघको बडापत्रको आधारभूत नियममध्येको एक हो भन्दै संयुक्त राष्ट्र संघको एक सदस्यको रूपमा रहेको अमेरिकाले अरू मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई हानि पार्ने कुनै पनि गतिबिधि नगर्न चेतावनी दिनुभएको छ ।

यसका साथै सिरिया, प्यालेष्टाइनलगायत मुलुकले पनि वक्तव्य प्रकाशित गरी पेलोसीको ताइवान भ्रमणको कडा निन्दा गरेका छन् ।

यता नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धतामा दृढतापूर्वक उभिने विश्वास व्यक्त गर्नुभएको छ । अमेरिकी प्रतिनिधिसभाकी सभामुख पेलोसीको ताइवान भ्रमणबारे बुधबार बिहान टिप्पणी गर्दै राजदूत होउले ‘ताइवान स्वतन्त्रता’को नेपालले दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दै उक्त विश्वास व्यक्त गर्नुभएको हो । ‘चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ताइवान स्वतन्त्रताको दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दछ,’ राजदूतले भन्नुभएको छ, ‘यो नेपाल-चीन सम्बन्धको राजनीतिक आधार पनि हो ।’

एक चीन नीतिको समर्थन गर्ने अमेरिकाकी सभामुखले अहिले बेमौसममा ताइवान भ्रमण गरेर चीनलाई उत्तेजित पार्न खोजेको बुझ्न कठिन छैन । अहिले रुस–युक्रेन युद्ध चलिरहेको छ । पर्दा अगाडि यी दुई देश लडेको देखिए पनि पर्दा पछाडि युद्धको नेतृत्व अमेरिकाले गरिरहेको छ । यो द्वन्द्वमा युक्रेनले अत्यधिक क्षति व्यहोरिरहेको छ भने रुस पनि विस्तारै रक्षात्मक बन्दै गइरहेको छ । ताइवानको मुद्दामा चीनलाई उत्तेजित बनाएर अमेरिका युक्रेन युद्धको नयाँ संस्करण ताइवानमा रच्न चाहन्छ र युक्रेन युद्धमा रूसलाई जस्तै ताइवान युद्धमा चीनलाई फसाउन चाहन्छ भन्ने अन्तर्राष्ट्रिय सम्बन्धका केही ज्ञाताहरूको बुझाइ छ । तर चिनियाँ नेताहरूले हरेक निर्णायक घडीमा सुझबुझपूर्ण र परिपक्व निर्णय लिने गरेकाले त्यस्तो स्थिति आइहाल्ने विश्वास चाहिँ गर्न सकिँदैन । अप्रिय स्थिति उत्पन्न हुन नदिन चीन र अमेरिका दुवै राष्ट्रले संयम अपनाउनु आजको आवश्यकता भएको विज्ञहरुको भनाई छ ।

Facebook Comments