Sat. Oct 19th, 2024

दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता

काठमाण्डौं, २०७९ जेठ २४ गते मंगलबार ।  हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय आउँदो असारदेखि खारेज हुने भएको छ । हिजो बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बालकृष्ण खाणले परीक्षणका रुपमा लागु भएको दुई दिन सार्वजनिक बिदा दिने निर्णय असार १ गतेदेखि लागु हुने गरी खारेज गरेको जानकारी दिनुभयो ।

यसअघि सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार गरी हप्तामा दुुई दिन पूरा बिदा दिने र सोमबारदेखि शुक्रबारसम्म कार्यालय समयमा पूरा काम गर्ने निर्णय गरेको थियो । त्यसैगरी सरकारले नेपाल प्रहरीका पाँच जना नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले डीआईजीहरू उत्तमकुमार सुवेदी, अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । यसअघि सरकारले नेपाल प्रहरीमा रिक्त पाँच एआईजी दरबन्दीका लागि करिब दुई साताअघि बढुवा सिफारिस गरेको थियो ।

यसैबीच नेपाली सेनाले तीन जना सहायकरथीलाई उपरथी पदमा बढुवा गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले तीन जना सहायकरथी दीपक बानियाँ, यामप्रसाद ढकाल र होमनाथ दवाडीलाई एक तह बढुवा गरेको हो । यसैगरी सरकारले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गर्ने निर्णय गरेको छ । नेपाल टेलिभिजन

Facebook Comments