Fri. Oct 18th, 2024

ताप्लेजुङको फुङफुङ्गे झरना

काठमाण्डौं, २०७९ जेठ २४ गते मंगलबार । नेपालकै सुन्दर झरनामध्येको ताप्लेजुङको फुङफुङ्गे झरना । मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवामा रहेको फुङ्फुङ्गे झरनाबारे धेरैलाई जानकारी छैन। पहाडको कापबाट अटुट रूपमा सङ्लो पानी झरिरहने निकै चित्ताकर्षक छ, फुङफुङ्गे झरना ।

शिरदेखि कतै नठोक्किई पानी झर्ने हुँदा यसको नाम फुङफुङ्गे रहन गएको स्थानीय बताउँछन् । करिब २५० मिटर अग्लो चट्टानी कापबाट पानी तीव्र गतिमा तल झरेको छ । यद्यपि आधिकारिक रूपमा यसको उचाइ मापन गरिएको छैन । नजिकै अवलोकन गर्ने ठाउँ बनाइएको छ ।

तलबाट हेर्दा आकासबाटै पानी झरेजस्तो देखिन्छ । धेरैबेर बस्ने हो भने झरनाबाट फरक–फरक आवाज सुनिन्छ। नजिकै लिम्बू समुदायको बस्ती छ । उनीहरूले यस झरनालाई शक्तिको प्रतीक मान्ने गरेका छन् । झरनाको फेदीमा फुङफुङ्गे देवीको मन्दिर छ । उक्त मन्दिरआसपास गाउँका मानिस गएर पूजा गर्छन् । मन्दिरनजिकै चौतारा र पार्टीघर निर्माण गरिएको छ । झरनाको पानी बगेर मेवाखोलामा मिसिन्छ ।

झरनाको अवलोकन गर्नेहरुका लागि झरना नजिक होम स्टेमा स्वागत तथा सत्कार गरिन्छ । अधिकाशं लिम्बू समुदायको बस्ती रहेको त्यहाँ च्याब्रुङ नाच, बिजुवा नाच, धान नाचले स्वागत गरिन्छ । जिल्ला सदरमुकाम फुङलिङ बजारदेखि सवारी साधनमार्फत मेरिङ्देन गाउँपालिकाको दोभान बजार, सान्थाक्रा, थुकिमा हुँदै करिब साढे तीन घण्टामा झरना पुगिन्छ । जिप, ट्याक्सी, मोटरसाइकलजस्ता सवारी साधनमार्फत फुङफुङ्गे झरना पुग्न सकिन्छ ।

(डिल्ली भट्टराईको फेसबुकबाट साभार)

Facebook Comments