Fri. Oct 18th, 2024

प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल   

सुदूरपश्चिम, २०७९ जेठ १७ गते मंगलबार । सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरूले विगत वर्षका बजेट नीति कार्यक्रम बनाउँदा भएका कमीकमजोरीको समीक्षा गर्दै आगामी वर्षको बजेट नीति कार्यक्रम बनाउन ध्यानाकर्षण गराउनुभएको छ ।

प्रदेशसभाको आजको बैठकमा सुरु भएको आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकमा समावेश हुने बजेट कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उहाँहरुले बजेट कार्यक्रमलाई समानुपातिक, समावेशी र सन्तुलित ढङ्गको बनाउन सुझाव दिनुभयो ।

उहाँहरुले विगत वर्षको बजेटको नीति कार्यक्रमका लक्ष्य, उद्देश्य, सिद्धान्त उत्कृष्ट हुने गरे पनि त्यसको कार्यान्वयनको पाटो कमजोर देखिएकाले गम्भीर हुनुपर्ने र बजेट कार्यक्रम बनाउँदा वित्तीय अनुशासन कायम राख्ने खालको हुनुपर्नेलगायतका सुझाव पनि दिनुभयो ।

आजको छलफलमा प्रदेशसभा सदस्यहरू प्रेमप्रकाश भट्ट, भरतबहादुर खड्का, श्यामलाल रानाथारु, महेशदत्त जोशी, गेल्बुसिंह बोहरा, बलबहादुर सोडारी, हर्कबहादुर कुँवर, सुशीला बुढाथोकी, नन्दबहादुर साउद र बलदेव रेग्मीले भाग लिनुभएको थियो । बैठकको प्रारम्भमा आर्थिक मामिलामन्त्री प्रकाश रावलले विनियोजन विधेयकमा समावेश हुने बजेट कार्यक्रमका सिद्धान्त र प्राथमिकता सभामा छलफल गरियोस् भनी पेश गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।
मन्त्री रावलले सोमबार सुरु भएको बजेट अधिवेशनको पहिलो दिनको बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकमा समावेश हुने बजेट कार्यक्रमका सिद्धान्त र प्राथिमकता पेश गर्नुभएको थियो ।

Facebook Comments