Thu. Jun 11th, 2026

रे टेलिभिजन एचडीको औपचारिक प्रसारण सुरु

- आयो रे टेलिभिजन

       

काठमाण्डौ, २०७९ बैशाख १९ गते सोमबार ।  रे टेलिभिजन एचडीको औपचारिक प्रसारण सुरु भएको छ । रे मिडिया ग्रुप अन्तर्गत सञ्चालित रे टेलिभिजन एचडीको औपचारिक प्रसारण आइतबारदेखि सुरु भएको हो ।

प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले एक समारोहबीच रे टेलिभिजनको औपचारिक शुभारम्भ गर्नुभएको हो । शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै सभामुख सापकोटालेआधुनिक विज्ञानमा टेलिभिजनको आविस्कार नविनतम् भएको बताउनु हुँदै  टेलिभिजनले अनुभुतिको गहिरो तिब्रता पैदा गर्ने जानकारी दिनुभयो । सापकोटाले सञ्चारक्षेत्र अत्यन्त महत्वपूर्ण र सम्वेदनशिल भएकोले यसलार्ई ठीक ढंगले संयोजन गर्न सकियो भने ठूलो भौतिक शक्ति पैदा हुने बताउनु भयो ।

आफूलाई युवाहरुमाथि गहिरो विश्वास रहेको बताउनुहुँदै सभामुख सापकोटाले रे मिडियाको उर्जाशिल टिमले मेहनत र परिश्रमसाथ उन्नती र प्रगति प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

साथै सापकोटाले बैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनका बारेमा रे टेलिभिजनले महत्वपूर्ण र उदाहरणीय कार्य गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले रे टेलिभिजनलाई नेपालको सम्पूर्ण निजि क्षेत्रको तर्फबाट शुभकामना दिनुहुँदै रे टेलिभिजनको न्यानो किरण हरेक नेपालीको मन मस्तिष्कमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले रे टेलिभिजन छोटो अवधिमै प्रभावकारी एवम् सशक्त ढंगले गाउँगाउँमा बस्ने दाजुभाइ दिदीबहिनीहको आत्माको आवाज बन्ने आशा आफुले लिएको बताउनु भयो ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुषालले धेरै मिडियामा श्रमजिवी ऐन कार्यान्वयनमा समस्या देखिएको बताउदै त्यस्तो समस्या रे टेलिभिजनमा नआउने विश्वास व्यक्त गर्नुभयो ।

सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगा बहादुर हमालले रे टेलिभिजन नेपालका धेरै टेलिभिजनहरुको भिडमा नयाँ जोश, नयाँ उमंग, र नयाँ आशाको किरण लिएर आएको बताउनु भयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले रे टेलिभिजन मजदूर वर्गको पक्षमा आवाज उठाउने टेलिभिजन बन्न सकोस् भनि शुभकामना दिनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले नेपालको बहुलता बल भएको भन्दै नेपालको यस तागतलाई चिनेर रे टेलिभिजनले बढावा दिने विश्वास व्यक्त गर्नुभयो ।

रे मिडिया ग्रुपका अध्यक्ष प्रकाशबाबु पौडेलले मिडिया क्षेत्रमा रे टेलिभिजन प्रतिस्पर्धी भन्दा पनि सहयात्रीको रुपमा आएकोले सहयात्री बन्नुपर्ने बताउनु भयो । साथै पौडेलले रे मिडिया ग्रुपले जहिले पनि सकारात्मक र जिम्मेवार मिडियाको भूमिका निर्वाह गर्दै आएको समेत बताउनु भयो । साथै पौडेलले रे टेलिभिजनबाट प्रसारण गरिने कुनै पनि समाचार र कार्यक्रम कुनै जातजाती, धर्म, समुदाय, वादबाट टाढा रहेर निष्पक्ष भएर सन्तुलित रुपमा प्रसारण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

समारोहमा नेपाल विज्ञापन संघका अध्यक्ष तथा मिडिया हवका प्रबन्ध निर्देशक सोम धिताल, वेलकम एड ग्रुपका अध्यक्ष तथा आनका पूर्वअध्यक्ष निर्मलराज पौडेल, चाईना मिडिया ग्रुपका नेपाल प्रतिनिधि चाङ युवे लगायतका विशिष्ठ महानुभावहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।

रे टेलिभिजनले नियमित रुपमा समाचार, अन्तरवार्ता, विचार, भाषा, कला, धर्म-संस्कृति, मनोरन्जन, खेलकूद, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान प्रविधि अन्तर्राष्ट्रिय गतिविधि लगायत सार्वजनिक चासोका महत्वपूर्ण विषयलाई प्राथमिकतामा राखेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read