Fri. Oct 18th, 2024

नारदमुनि गौतम गोरखापत्र अनलाइन प्रकाशनको सम्पादक नियुक्त

काठमाण्डौं, २०७८ चैत २६ गते शनिबार । गोरखापत्र संस्थान व्यवस्थापनले गोरखापत्र दैनिकका प्रमुख समाचारदाता नारदमुनि गौतमलाई गोरखापत्र अनलाइन प्रकाशनको निमित्त सम्पादकमा नियुक्त गरेको छ। व्यवस्थापनको चैत २५ गतेको निर्णयअनुसार गौतमलाई आज शनिबारबाट अनलाइन प्रकाशनको जिम्मेवारी तोकिएको हो।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गौतमलाई जिम्मेवारी दिएसँगै अनलाइन प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो। कार्यकारी अध्यक्ष सुवेदीले संस्थानले डिजिटल प्रकाशनलाई राम्रो बनाउन गौतमलाई जिम्मेवारी दिइएको उल्लेख गर्नुभयो। ‘अनलाइनको भीडमा गोरखापत्र अनलाइन राम्रो भएको छ, त्यसका लागि सम्पादक रामप्रसाद हुमागाईंलाई धन्यवाद दिनुपर्छ। तर, अझै पनि सन्तोषजनक काम हुन सकेको छैन’, अध्यक्ष सुवेदीले भन्नुभयो, ‘अब डिजिटल पब्लिकेशनलाई प्रभावकारी बनाउने जिम्मेवारी गाैतममा थपिएको छ।’

गौतमलाई बधाई तथा शुभकामना दिनुहुँदै गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले राज्यको स्रोतको समयमै सदुपयोग गर्ने गरी अनलाइन प्रकाशनले काम गर्नुपर्ने बताउनुभयो। ‘हामीसँग सूचनाका लागि राज्यको ठूलो स्रोत छ। तर, हामीले त्यसलाई प्रस्तुत गर्न नसकेको अवस्था छ’, महाप्रबन्धक ऐरीले भन्नुभयो, ‘अब नयाँ नेतृत्वले त्यसलाई कार्यान्वयन गर्ने विश्वास लिएका छौँ।’

यसैगरी गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराईले गोरखापत्र अनलाइनको प्रभावकारिता देखिने गरी गौतम नेतृत्वको टिमले काम गर्ने विश्वास व्यक्त गर्नुभयो। ‘पत्रकारिताको लामो अनुभव छ, उहाँको नेतृत्वमा अनलाइन प्रभावकारी बन्ने हाम्रो विश्वास छ’, प्रधानसम्पादक भट्टराईले भन्नुभयो।

संस्थानमा नेपाली पत्रकारिता समूहका नायब कार्यकारी सम्पादक गौतमले आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ। वि.सं. २०५१ मा नेपाल प्रेस इन्स्टिच्युटबाट १० महिनाको पत्रकारिता तालिम लिएर पत्रकारिता क्षेत्रमा लाग्नुभएका गौतम संस्थान सेवामा २०५३ प्रवेश गर्नुभएको हो। निरन्तर १५ वर्षसम्म गोरखापत्र दैनिकको रिपोर्टिङमा कार्यरत गौतमसँग संसदीय मामिला, राजनीतिक, भ्रष्टाचार र सुशासन क्षेत्रमा कलम चलाएको अनुभव छ। गोरखापत्र अनलाईन

Facebook Comments