Fri. Oct 18th, 2024

उर्जा मन्त्री भुसालद्वारा मोतीपुर १३२ केभी सबस्टेसनको उद्घाटन

काठमाण्डौं, २०७८ चैत ४ गते शुक्रबार । कपिलवस्तुको बाणगङ्गा नगरपालिका-७ मा निर्माण सम्पन्न भएको १३२/३३/११ केभी क्षमताको मोतीपुर सवस्टेशनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसालले सबस्टेसनको बिहीबार उद्घाटन गर्नुभएको प्राधिकरणले जनाएको छ ।

पूर्वपश्चिम १३२ केभी प्रसारण लाइनलाई आठ वटा टावर निर्माण गरी मोतीपुर सवस्टेशनमा लगिएको छ । सवस्टेशनमा रहेका ३० र १६ एमभिएका पावर ट्रान्सफर्मर छन् । सवस्टेशनबाट स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि चार वटा फिडर निकालिएको छ । यसमध्ये तीन फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी एउटालाई जगेडामा राखिएको छ ।

उद्घाटन कार्यक्रममा मन्त्री भुसालले सरकारले ऊर्जा खपत बढाउन पहल गरिरहेको उल्लेख गर्दै औद्योगिक तथा घरायसी प्रयोजनका लागि विद्युत् प्रयोग गर्न आग्रह गर्नुभएको प्राधिकरणले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सवस्टेशनले मोतीपुर क्षेत्रको विद्युत् आपूर्तिमा सन्तुलन ल्याउने र स्थानीयवासीले भरपर्दो बिजुली प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गुणस्तरीय र पर्याप्त विद्युत् आपूर्तिका लागि पूर्वाधार बनेको उल्लेख गर्दै मोतीपुर क्षेत्रमा उद्योग स्थापनाका लागि औद्योगिक वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले सवस्टेशनबाट विद्युत् आपूर्ति सुरु भएपछि यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय भएको तथा प्राविधिक चुहावटसमेत कम भएको बताउनुभयो ।

मोतीपुर सवस्टेशनबाट कपिलवस्तुको जीतपुर तथा तौलिहवा र रुपन्देहीको सालझण्डी क्षेत्रमा विद्युत् आपूर्तिका लागि क्रमश : ३३ केभी र ११ केभी फिडर निकाली लाइन सञ्चालनमा ल्याइएको छ । यसअघि त्यस क्षेत्रमा कपिलवस्तुको चनौटाबाट विद्युत् आपूर्ति भइरहेको थियो ।

लामो लाइनबाट विद्युत् आपूर्ति हुँदा न्यून भोल्टेज, ट्रिप भएर झ्याप्पझ्याप्प बत्ती जानेलगायतका समस्या थियो । सालझण्डीमा ३३/११ केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । सबस्टेसनको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति अझै गुणस्तरीय र भरपर्दो हुनेछ । बुर्तिवाङ-पाउदी अमराई-तम्घास-सन्धिखर्क गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर सवस्टेशन निर्माण गरिएको हो । आयोजनाअन्तर्गतकै अर्खाखाँचीको सन्धिखर्कमा १३२/३३/११ केभी सबस्टेसन र मोतीपुर-सन्धिखर्क खण्ड प्रसारण लाइनको निर्माण पनि अन्तिम चरणमा छ ।

कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङ जिल्लाको विद्युत् आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि आयोजनाको निर्माण गरिएको हो । आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेसन निर्माणाधीन छन् । नेपाल सरकारको लगानीमा निर्माण भइरहेको आयोजनाको अनुमानित लागत करिब रु तीन अर्ब छ । नेपाल टेलिभिजन

Facebook Comments