Fri. Oct 18th, 2024

निर्वाचन आयोगद्वारा स्थानीय तह निर्वाचन कार्यक्रम स्वीकृत

काठमाण्डौं, २०७८ चैत ४ गते शुक्रबार ।  निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

रेडियो नेपालका अनुसार आयोगको आज बसेको बैठकले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार आगामी वैशाख ११ गतेदेखि १२ गतेसम्म २ दिन उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम तय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

यसैगरी वैशाख १२ गते नै मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी वैशाख १५ गते नै मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचन कार्यक्रमहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुने आयोगले जनाएको छ ।

Facebook Comments