एमसीसीविरुद्ध नेकपा(एस)का विद्यार्थीको लालटिन जुलुस
काठमाण्डौं, २०७८ फागुन १२ गते बिहीबार । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आज पनि एमसीसीको विरोधमा प्रदर्शन गरेको छ ।
संघीय संसद भवनअगाडि अनेरास्ववियूले सिठ्ठी फुकेर लालटिन जुलुस निकालेको हो । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली नेतृत्वको आन्दोलनकारी समूहले एमसीसी खारेजीको माग गर्दै नाराबाजी समेत गरेका छन् । उनीहरुले नेता र सांसदहरुलाई दिउँसै लालटिन बालेर सचेत गराएका छन् ।
आज बिहानमात्र गृहमन्त्री वालकृष्ण खाणले पराजुलीलगायत आन्दोलनकारी संगठनका नेतृत्वलाई फोन गरेर गठबन्धनलाई असर नपर्ने गरी शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गर्नुभएको थियो ।
यसैबीच अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा बानेश्वर क्षेत्र आज पनि अशान्त बनेको छ । आजको प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि छलफल हुने बताईएपछि प्रदर्शनकारीले विरोध जनाएका थिए।
प्रदर्शनकारीहरूले एमसीसी अनुमोदन गर्न नहुने भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनलाई लक्षित गर्दै बानेश्वर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
एमसीसीको विरोधमा रहेका विभिन्न दलहरूका कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गरेका थिए । प्रहरीले भीडलाई नियन्त्रण गर्नका लागि रबरको गोली, अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो । आक्रोशित प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेका थिए । सो क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।