नेपालका लागि पूर्व ब्रिटिस राजदूत रिचर्ड मोरिसले आत्महत्या गरेको निष्कर्ष
काठमाण्डौं, २०७८ फागुन ४ गते बुधबार । ब्रिटेनको कोभिडसम्बन्धी सरकारी कार्यदलमा काम गरिरहँदा बेपत्ता भएका एक जना कूटनीतिज्ञले आत्महत्या गरेको निष्कर्ष निकालिएको छ । मृत्युको घटनामा हुने एक अदालती न्यायिक अनुसन्धानबाट सो कुरो पत्ता लागेकोे हो । रिचर्ड मोरिसको शव बेन्ट्ली ह्याम्पसीअरस्थित उहाँको घरनजिकै अगस्ट २०२० मा फेला परेको थियो।
नेपालका लागि पूर्व ब्रिटिस राजदूत समेत रहनु भएका मोरिस ५२ वर्षका हुनुहुन्थ्यो। उहाँ उक्त क्षेत्रमा सन् २०२० मे ६ मा अन्तिम पटक दौडिरहेको अवस्थामा देखिनु भएको थियो । विन्चेस्टरस्थित मृत्युको घटनामा हुने अदालती सुनुवाइमा मृत्युअघि उहाँ “गम्भीर तनाव” मा रहेको जानकारी दिइएको थियो।
उहाँले दैनिक लामो समयसम्म काम गर्नुपरेको, यूकेले कोरोनाभाइरसको महामारीको शक्तिशाली पहिलो लहरको सामना गरिरहँदा उहाँले मन्त्रीहरूलाई दिने बिफ्रिङ्गको समन्वय गर्नु परिरहेको उक्त सुनुवाइलाई जानकारी गराइएको थियो।
मङ्गलवार उक्त सुनुवाइको अध्यक्षता गरिरहनु भएका कोरोनरले मोरिसले यूकेको विदेश मन्त्रालयमा काम गर्दा तनाव बेहोरेपछि भविष्यका चिन्ताका माझ आफ्नो ज्यान आफैँ लिएको ठहर गर्नुभएको थियो ।
वरिष्ठ कोरोनर क्रिश्टोफर विल्किन्सनले भन्नुभयो, “रिचर्ड मोरिसले गम्भीर र निरन्तर तनाव बेहोरेपछि आफ्नो ज्यान आफैँ लिए।” “रिचर्डले वृहत् कार्यदल र एफसीडीओले एकदमै द्रुत रफ्तारमा फैलिरहेको महामारीको अप्ठेरो परिस्थितिमा काम गरिरहेको म बुझ्न सक्छु।”
कोरोनाभाइरसको सङ्कट देखिएको प्रारम्भिक अवस्थामा कार्यदलले गरेको कामलाई उनले “विमान निर्माण भइरहेको समयमै त्यसलाई उडाउनुसँग” तुलना गर्नुभयो । विल्किन्सनले मोरिसको आफ्नो क्षमता अनुसार उत्कृष्ट प्रदर्शन गर्ने चाहना, तनाव र चिन्ता लिने पृष्ठभूमिलाई पनि उल्लेख गर्नुभएको थियो ।
रिचर्ड मोरिसले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गर्नुभएको थियो। नेपालको परराष्ट्र कार्यालयले पछिल्लोपटक निकालेको विज्ञाप्तिमा मोरिस निकै महत्वपूर्ण व्यक्तित्व रहेको र फराकिलो सम्बन्ध राख्न सक्ने व्यक्तिका रूपमा परिचित रहेको बताएको थियो।
उहाँका तीन सन्तान र एक श्रीमती हुनुहुन्छ । बीबीसी