एमसीसीको बिरोधमा काठमाण्डौंमा प्रदर्शनकारी र प्रहरीबीच डरलाग्दो झडप, १३७ जना पक्राउ
काठमाण्डौं, २०७८ फागुन ४ गते बुधबार । एमसीसीको बिरोधमा बिभिन्न राजनीतिक दल र तिनका भातृ संगठनहरुले प्रदर्शन गर्दा आज दिनभरी नै काठमाडौंको नयाँ बानेश्वरक्षेत्र तनावग्रस्त भएको छ ।
एमसीसीको बिरोध गर्दै बानेश्वरमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, राप्रपा लगायतका दलले बिरोध प्रदर्शन गरेका छन् ।
सो क्रममा प्रदर्शनमा उत्रिएका र प्रहरीबीच डरलाग्दो झडप भएको छ । झडपका क्रममा ढुङ्गामुढा समेत प्रयोग भएको थियो भने प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहोरा र दर्जनौ राउण्ड अश्रुग्याँस समेत प्रयोग गरेको छ ।
एमसीसीको बिरोध गर्दै बिभिन्न दलका कार्यकर्ताले संसद भवनलाई चारैतिरबाट घेरेका थिए । विरोध प्रदर्शनका कारण आज दिनभरी नै सो क्षेत्रको यातायात पूर्ण रुपमा अस्तव्यस्त बनेको छ ।
विरोध प्रदर्शनमा उत्रिएका १ सय ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नयाँ बानेश्वर, माइतीघर लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको काठमाण्डौंका प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले बताउनु भयो। पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डस्थित महेन्द्र पुलिस क्लव सहित विभिन्न प्रहरी कार्यालयमा राखिएको छ ।