Fri. Oct 18th, 2024

उत्तर कोरियाले क्रिप्टोकरेन्सी चोरीबाट क्षेप्यास्त्र कार्यक्रमको खर्च निकालेको राष्ट्रसङ्घीय प्रतिवेदनको खुलासा

काठमाण्डौं, २०७८ माघ २४ गते सोमबार । उत्तर कोरियाले साइबर हमलाबाट दशौँ लाख डलर बराबरका क्रिप्टोकरेन्सी चोरेको एक संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनले जनाएको छ।

आफ्नो क्षेप्यास्त्र कार्यक्रमको खर्च जुटाउनका लागि सन् २०२० र सन् २०२१ को मध्यसम्ममा साइबर हमलाबाट उत्तर कोरियाले पाँच करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति चोरेको अनुसन्धानकर्ताले जनाएका छन्।

प्रतिवेदनमा साइबर हमला प्योङ्याङको आणविक क्षेप्यास्त्र कार्यक्रमका लागि ‘महत्त्वपूर्ण आर्थिक स्रोत’ भएको जनाइएको छ।

सो प्रतिवेदन शुक्रवार संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धसम्बन्धी समितिलाई बुझाइएको बताइएको छ।

ती साइबर हमलाका निशाना उत्तर अमेरिका, युरोप र एशियाका कम्तीमा तीन वटा क्रिप्टोकरेन्सी बजार रहेको बताइएको छ।

उक्त प्रतिवेदनले गत महिना एउटा सुरक्षा कम्पनी चेनालिसिसले प्रकाशन गरेको अध्ययनलाई समेत उद्धृत गरेको छ।

सो अध्ययनले साइबर हमलाहरूबाट गत वर्ष मात्रै उत्तर कोरियाले ४० करोड डलरसम्म डिजिटल मुद्रा चोर्ने प्रयास भएको जनाएको छ।

सन् २०१९ को संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनले उत्तर कोरियाले दुई अर्ब अमेरिकी डलर साइबर हमलामार्फत आम विनाशकारी कार्यक्रमका लागि जम्मा पारेको अनुमान गरेको थियो। बीबीसी

Facebook Comments