लुम्बिनीमा भव्य प्रार्थना सभा तथा दीपावली
लुम्बिनी, २०७८ पुस १७ गते शनिबार । अंग्रेजी नयाँ वर्ष सन् २०२२ को उपलक्ष्यमा भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भव्य प्रार्थना सभा र दीपावली गरिएको छ ।
लुम्बिनीको मायादेवी मन्दिर परिसरमा लुम्बिनीस्थित चिनियाँ विहारले आज जनवरी एक तारिखका दिन भव्य प्रार्थना सभा र दीपावली कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा १ सय ३० जना बौद्ध भिक्षुहरुले विश्व शान्ति, मानव लगायतका समस्त प्राणीहरुको कल्याण र सुखमय जीवनका लागि प्रार्थना गर्नुभएको थियो । सो कार्यक्रमका संयोजक तथा नेपालस्थित चिनियाँ बौद्ध अुनुयायीहरुका अध्यक्ष स्या छिङले नयाँ वर्षको पावन अवसरमा भगवान गौतमबुद्धको पवित्र भूमिमा उपस्थित भएर मानव लगायतका समस्त प्राणीहरुको कल्याण, विश्व शान्ति र कोरोना महामारीले थलिएको विश्वले छिटै नयाँ उत्साह प्राप्त गर्न सकोस् र मानजजातिमा खुशीयाली छाओस भन्ने उद्धेश्यले प्रार्थना सभा र दीपावली गरिएको जानकारी दिनुभयो ।
चिनियाँ विहारले नयाँ वर्षको पवन अवसरमा शनिवार बिहान सबेरै विहार परिसरमा दर्जनौं गरिव, असहाय र दिनदुखीहरुलाई ८० बोरा चामल र फलफूल वितरण गरेको थियो भने शनिबार वेलुकी मायादेवी मन्दिर परिसर र आसपासका सबै क्षेत्रमा भव्य रुपमा दश हजार भन्दा धेरै दीप वालिएको थियो ।
सो कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरु, बौद्ध भिक्षुहरु, स्थानीय वासिन्दाहरु, सञ्चारकर्मी लगायत ५ हजार भन्दा धेरै मानिसहरुको उपस्थिती रहेको थियो ।
प्रार्थाना तथा दीपावली कार्यक्रमको आयोजनाले कोरोना महामारीको कारण विगत दुईवर्षदेखि सुनसान रहेको लुम्बिनी क्षेत्रको पर्यटन क्षेत्रको विकासमा उत्साह ल्याएको स्थानीय व्यवसायीहरुको भनाई छ ।