बन्दसत्रमा राजनीतिक प्रतिवेदन र विधान मस्यौदा प्रस्तुत
- माओवादी केन्द्रको ८औं राष्ट्रिय अधिवेशन
काठमाण्डौं, २०७८ पुस १२ गते सोमबार । नेकपा माओवादी केन्द्रको काठमाण्डौंमा जारी ८ औं महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि नेता गुरुङले विधान मस्यौदा पेश गर्नुभएको हो ।
विधान मस्यौदा र राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न माओवादी केन्द्रले विभिन्न २५ वटा समूह बनाएको छ । सो समूहमा भोली दिनभर विषयगत छलफल हुने र बुधवार समूहका तर्फबाट टोली नेताहरूले सुझाव दिने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।
विधान मस्यौदामा पार्टीलाई बहु पदीय व्यवस्थामा लैजाने गरी एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष गरी १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रिय समिति प्रस्ताव गरिएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष प्रचण्डले बन्द सत्रमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा विभिन्न सात वटा शीर्षकहरूमा समग्र राजनीतिक पक्षहरू समेटिएका छन् ।
‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षक तय गरिएको प्रतिवेदनको सुरुवातमा नेपाली राजनीतिको संक्षिप्त पृष्ठभूमि सहित वर्तमान परिस्थितिको समीक्षा गरिएको छ ।
यसैगरी प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा र निचोड, राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षाका साथै विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य, पार्टी इतिहासको संक्षिप्त सिंहावलोकनबारे चर्चा गरिएको छ ।
त्यसैगरी दस्ताबेजमा नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति र कार्यनीति उल्लेख उल्लेख गरिनुका साथै समाजवादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरूका सम्बन्धमा समेत चर्चा गरिएको छ ।
दस्ताबेजको अन्तिम शीर्षक अन्तर्गत ‘पार्टीका तात्कालिक नीति, योजना र कार्यक्रमको रूपरेखाका साथै पार्टीले लिनुपर्ने बाटो र कार्यक्रम’ बारे चर्चा गरिएको छ ।
बन्द सत्रमा दुई प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेसँगै छलफलका लागि समूह विभाजन गरिएको हो । जसअनुसार ज्येष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकारको गरी ३ समूह विभाजन गरिएको छ । जसको नेतृत्व नन्दकुमार थापाले गर्नुभएको छ ।
यसैगरी प्रदेश १ बाट दुई वटा समूह विभाजन गरिएको छ । जसको नेतृत्व हर्क बहादुर गुरुङले गर्नुभएको छ भने प्रदेश २ को गणेश साह टोली नेता हुनुहुन्छ । सो प्रदेशमा पनि पनि दुई वटा समूह बनाइएको छ ।
यस्तै लुम्बिनी प्रदेशको समूहको नेता चक्रपाणि खनाल चुनिनुभएको भने गण्डकी प्रदेशको नेतृत्वमा गायत्री गुरुङ हुनुहुन्छ ।
प्रवास समितिको टोली नेता लक्ष्मण पन्त, कर्णालीको नेतृत्व विमला केसीले गर्नुभएको छ । पन्त, केसी र गुरुङ नेतृत्वको टोलीलाई पनि दुई-दुई समूहमा विभाजन गरिएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशको समूहको नेतृत्व खगराज भट्टले गर्नुभएको छ भने विभागको माया प्रसाद शर्मा टोली नेता बन्नुभएको छ ।
यस्तै सम्पर्क समन्वय प्रदेशको कृष्ण अधिकारी, बागमती प्रदेशको सरल सहयात्री, जन वर्गीय सङ्गठन (जबस) मोर्चाको नेतृत्व अमृता थापा लगायत तोकिनुभएको छ ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले पार्टीभित्रका कमीकमजोरीहरूलाई सुधार गर्दै सबल पक्षहरूको अनुसरण गरिने बताउनुभएको छ ।