Fri. Oct 18th, 2024

नेपाली कांग्रेसको सभापति पदका लागि पुन निर्वाचन हुने, शेर बहादुर देउवालाई २२५८ मत मात्र प्राप्त

काठमाण्डौं, २०७८ मंसिर २८ गते मंगलबार । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको छ । सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले दुई हजार २५८ उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गर्नुभएको छ ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।

पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जनामात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।

Facebook Comments