Fri. Oct 18th, 2024

ताप्लेजुङको सिदिङ्वामा अज्ञात रोगले भेडा मर्न थाले

काठमाण्डौं, २०७८ मंसिर २८ गते मंगलबार ।  ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा अज्ञात रोगले भेडा मर्न थालेका छन् । सिदिङ्वा गाउँपालिका-३ आँखोप र वडा नं. २ सादेवाका किसानले पालेका भेडा अज्ञात रोगका कारण धमाधम मर्न थालेका हुन् ।

आँखोपका टोपबहादुर बुढाक्षेत्री, सादेवाका हिमकुमार राई र सीताराम खड्काको गोठमा रहेका भेडा अज्ञात रोगले मर्न थालेका हुन् । सादेवाका स्थानीय कैलाश राईले बुढाक्षेत्री, राई र खड्काले संयुक्त रुपमा भेडा गोठ पाल्दै आउनुभएको र हालसम्म उहाँहरुको गोठमा रहेका करिब ४५ वटा भेडा अज्ञात रोगले मरिसकेका जानकारी दिनुभयो ।

स्थानीय जनप्रतिनिधि (गाउँ कार्यपालिका सदस्य) समेत रहनुभएका राईका अनुसार भेडाले दुई तीन दिनसम्म घाँस नखाने र त्यसपछि झोक्राएर मर्ने गरेका छन् । अज्ञात रोगले मरेका भेडामध्ये धेरै गर्भधारण गरेका र बच्चा जन्माउने समय पुगेका माउ भेडा रहेका राईले बताउनुभयो । उहाँका अनुसार अज्ञात रोगले भेडा मर्ने क्रम जारी छ भने गर्भधारण गरेका अधिकांश माउ भेडाको गर्भ खेर गएको (तुहिएको) छ ।

करिब चारसय वटा रहेको गोठमा अज्ञात रोग फैलिएर भेडा मर्न थालेपछि भेडापालक किसानले ठूलो नोक्सानी बेहोर्नुपरेको छ । गोठपालक किसान टोपबहादुर बुढाक्षेत्रीले भेडामा सास फेर्न कठिन भएजस्तो देखिने, घाँस (खुराक) नखानेजस्ता लक्षण रहेको बताउनुभयो । उक्त लक्षण देखिएको दुईदेखि चार दिनभित्र भेडा मर्ने र गर्भधारण गरेका माउ भेडाले बच्चा तुहाउने गरेको उहाँले बताउनुभयो ।

अर्का किसान हिमकुमार राईले अज्ञात रोगले शुरु भएको भेडा मर्ने क्रम नरोकिए गोठ नै सखाप हुनसक्ने चिन्ता व्यक्त गर्नुभयो । जाडो मौसम शुरु भएपछि चिसो छल्नलाई हिमाली चरन क्षेत्रबाट भेडा गोठ अहिले गाउँमा झारिएको र गाउँमा झारेको करिव महिना दिनपछि अज्ञात रोग देखा पर्न थालेको राईले बताउनुभयो । अज्ञात रोग देखिएपछि गाउँमा उपलब्ध पशुविज्ञलाई देखाउँदा पनि रोग पहिचान हुन नसकेको उहाँको भनाइ छ ।

सिदिङ्वा गाउँपालिका पशु सेवा शाखाले भने किसानले पालेको भेडामा समस्या आउन थालेदेखि नै समाधानको पहल भइरहेको जनाएको छ । शाखा प्रमुख एञ्जलबाबु कार्कीका अनुसार गाउँपालिकाको पशु शाखासँग उपलब्ध स्रोत साधनको उपयोगबाट समस्या समाधानको पहल भए पनि हालसम्म रोगको पहिचान भने हुनसकेको छैन । रोग पहिचान नभएपछि मरेको भेडाको नमुना (रगत) सङ्कलन गरेर ल्याव परीक्षणका लागि पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारमार्फत नमुना सङ्कलन गर्ने किट माग गरिएको र बुधबार सम्ममा नमुना सङ्कलन गरी परीक्षण गर्न प्रदेश प्रयोगशाला विराटनगर पठाइने कार्कीले जानकारी दिनुभयो । यो रोगले भेडा मर्नेको तुलनामा गर्भ तुहिने समस्या बढी देखिएको पनि उहाँले बताउनुभयो । भेडामा देखिएको समस्या शुरुमा भन्दा अहिले केही कम हुँदै गएको पनि उहाँको भनाइ छ ।

यता हालसम्म ४० भन्दा बढी भेडा मरेपछि करिब १० लाख रुपियाँ बराबरको नोक्सान भएको किसानले बताएका छन् । किसानका अनुसार एउटा भेडाको मूल्य १८ देखि २५ हजार रुपियाँसम्म पर्ने गरेको छ । उता सिदिङ्वा गाउँपालिकामा भेडा मर्न थालेपछि फुङ्लिङ नगरपालिकाका भेडापालक किसान त्रसित बनेका छन् । फुङ्लिङ नगरपालिका-११ फावाखोलाका किसान गोपाल बिष्टले उक्त किसिमको रोग भित्रिन नदिनलाई सतर्कता अपनाउँदै आएको बताउनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments