Sat. Oct 19th, 2024

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाण्डौं, २०७८ मंसिर २४ गते शुक्रबार । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि काठमाण्डौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । वि.सं. २००७ सालको प्रजातान्त्रिक आन्दोलनको प्रमुख योजनाकार तथा हिमायती पार्टी नेपाली कांग्रेसको महाधिवेशन स्थललाई यत्तिवेला विशेष रूपमा सजाइएको छ ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नुुहुनेछ । उद्घाटन समारोहमा सम्बोधनका लागि काँग्रेसका शीर्ष नेतासँगै देशका प्रमुख राजनीतिक दलका नेता र भारतबाट आएका राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ । विभिन्न देशबाट महाधिवेशनको सफलताको कामना गर्दै पठाइएका सन्देश पनि वाचन गरिनेछ । महाधिवेशनको सबै तयारी पूरा भएको केन्द्रीय सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभयो ।

काँग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई निम्तो गरिएको पाहुना स्वागत तथा व्यवस्थापन समितिका सदस्य डा. प्रभु बुढाथोकीले बताउनुुभयो । समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई उद्घाटन समारोहमा आमन्त्रण गरिएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई पनि उद्घाटन समारोहमा आमन्त्रण गरिएको छ ।

महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने भएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले पार्टीको नयाँ नेतृत्व चयन भएपछि नीति अधिवेशनमार्फत पार्टीका नीति, दृष्टिकोण र कार्यक्रममाथि बहस गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीलाई बदल्ने, परिवर्तित गर्ने र समयसापेक्ष रूपमा परिमार्जित गर्दै लाने विषयमा हामी प्रस्ट छौँ । महाधिवेशनबाट नेतृत्व चयन गरेपश्चात् नीति अधिवेशनमार्फत पार्टीको रणनीतिक विषयमा बहस हुनेछ ।”

महाधिवेशनमा कागजकै मतपत्रमार्फत मतदान हुने भएको छ । प्रवक्ता शर्माका अनुसार विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने विषयमा छलफल भए पनि अहिलेलाई कागजकै मतपत्रमार्फत मतदान हुने निर्णय भएको छ । उद्घाटनसत्रपछि बन्दसत्र हुनेछ । बन्दसत्रको कार्यक्रम सकिएपछि मतदान नेपाल पुलिस क्लब, राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा हुनेछ । उहाँका अनुसार सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय कार्यसमितिका लागि अलग-अलग मतदान गर्ने व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो, “सर्वप्रथम सभापतिलाई मतदान गर्नुपर्नेछ । मतपत्र मतपेटिकामा खसालेपछि उपसभापतिका लागि मतदान गर्नुपर्नेछ । त्यसपछि महामन्त्री र सहमहामन्त्रीलाई मतदान गर्नुपर्नेछ । ”

महाधिवेशनमा शुभकामना दिनका लागि भारतबाट तीन जना नेता काठमाण्डौं आइपुग्नुभएको छ । स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका सदस्य डा. प्रभु बुढाथोकीका अनुसार भारतीय जनता पार्टीका नेताद्वय पूर्वमन्त्री डा. हर्षबद्र्धन र लोक सभा सदस्य हरिश द्विवेदी काठमाण्डौं आउनुभएको छ । त्यसैगरी भारतीय राष्ट्रिय काँग्रेसका महासचिव एवं पूर्वकेन्द्रीय मन्त्री मुकुल वासनिक पनि आइपुग्नुभएको छ । बुढाथोकीले भन्नुभयो, “विभिन्न देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश प्राप्त भइरहेको छ तर कोभिड-१९ प्रकोपलाई दृष्टिगत गरी नेताहरू चाहिँ तीन जना मात्रै आउनुभएको हो । ”

Facebook Comments