Sat. Oct 19th, 2024

प्रधानमन्त्री शेर बहादुर देउवाद्वारा लोकतन्त्र शिखर सम्मेलनमा सम्बोधन, लोकतान्त्रिक रूपान्तरणको यात्रामा नेपालको अनुभव अनुकरणीय रहेको भनाई

काठमाण्डौं, २०७८ मंसिर २४ गते शुक्रबार । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक रूपान्तरणको यात्रामा नेपालको अनुभव अनुकरणीय रहेको बताउनुभएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको लोकतन्त्रका लागि शिखर सम्मेलनमा बिहीबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले लोकतन्त्रीकरणको यात्रामा जटिल राजनीतिक मतभेदलाई पनि वार्ताबाटै समाधान गर्न सकिने नेपालको सफल इतिहास रहेको बताउनुभएको हो ।

सो क्रममा उहाँले लोकतन्त्र र लोकतान्त्रिक रूपान्तरणको यात्रामा नेपालको विविध अनुभव साट्नुभयो । नेपालमा विकसित सशस्त्र द्वन्द्व र शान्ति प्रक्रियाको स्मरण गर्नुहुँदै शान्ति प्रक्रियाको क्रममा भएका उपलब्धिबारे प्रधानमन्त्री देउवाले त्यसको अभिन्न अङ्गका रूपमा जननिर्वाचित संविधान सभाले लोकतान्त्रिक र समावेशी संविधान निर्माण गरेको जानकारी गराउनुभयो ।

साथै उहाँले लैङ्गिक समानताका लागि नेपालको प्रतिबद्धता र उपलब्धिका बारेमा प्रकाश पार्दै लोकतन्त्रले जनताको आकाङ्क्षा पूरा गर्नुपर्नेमा जोड दिनुभयो । नेपालले लोकतन्त्रलाई दिगो बनाउने क्रममा आर्थिक एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो । सम्बोधनसँगैको भिडियो सन्देशमा उहाँले महिला सशक्तीकरण, भष्टाचारविरुद्धको लडाइँ, सुशासनका सबै क्षेत्रमा समावेशी प्रतिनिधित्व र शान्ति प्रक्रिया पूरा गर्नेलगायतका विषयमा नेपालको प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले विश्वव्यापी मताधिकार, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन, स्वतन्त्र न्यायपालिका, अधिकार र स्वतन्त्रताको संरक्षण नेपालको बहुदलीय प्रजातन्त्रको प्रमुख विशेषता रहेको प्रस्ट पार्नुभयो ।

सम्मेलनमा नेपालको तर्फबाट प्रस्तुत गरिएको छुट्टै वक्तव्यमा नेपालले प्रजातन्त्र, मानव अधिकार र सुशासनका लागि मुलुकको दृष्टिकोणका साथै यी क्षेत्रमा भएका उपलब्धिका बारेमा उल्लेख गरिएको थियो ।

शिखर सम्मेलनमा नेपालसहित ११० मुलुकका सरकार प्रमुखहरूले भर्चुअल रूपमा सहभागिता जनाउनुभएको छ । आयोजकका तर्फबाट अमेरिकी राष्ट्रपति बाइडेनले लोकतन्त्रको सबलीकरणमा सम्मेलनले सघाउने अपेक्षा व्यक्त गर्नुभएको थियो । लोकतन्त्रको उत्थानशीलता र चुनौतीलाई सम्बोधन गर्दै आगामी विश्वयात्रालाई सहज बनाउन शिखर सम्मेलन मार्गदर्शक हुने उहाँले प्रस्ट पार्नुभएको थियो । गोरखापत्र अनलाईन

Facebook Comments