Fri. Oct 18th, 2024

हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरूद्ध

काठमाण्डौं, २०७८ मंसिर १८ गते शनिबार । हिमाली जिल्ला हुम्लाका लागि यातायातको एक मात्र साधन हवाई सेवा दुई दिनदेखि अवरुद्ध भएको छ । बिहीबार बिहानबाट लगातार वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध भएको हो ।

उडान अवरुद्ध भएपछि सिमकोटबाट नेपालगञ्जका लागि टिकट हातमा लिनुभएका यात्रु प्रेम लामाले दुई दिनदेखि सिमकोटमै रोकिएको बताउनुभयो । खराब मौसमका कारण उडान हुन नसकेपछि लामाजस्तै अन्य ८० भन्दा बढी यात्रु सिमकोटमा नै रोकिएका छन् ।

नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख मोहन गिरीले लगातार वर्षा भइरहेका कारण दुई दिनयता हवाई सेवा बन्द रहेको बताउनुभयो । उहाँले यतिखेर हिमपात हुनुपर्ने तर वर्षा मात्र भइरहेका कारण मौसममा सुधार नआउँदा हवाई यातायात अवरुद्ध भएको उल्लेख गर्नुभयो ।

दैनिक आठदेखि १२ वटा उडान हुने गरेकामा दुई दिनयता एउटा पनि उडान हुनसकेको छैन । उहाँले हुम्लामा मौसम बिग्रिँदा नेपालगञ्ज विमानस्थलमा उडान भर्न तयारी अवस्थामा रहेका जहाजले सिमकोटका लागि उडान भर्न नपाएको बताउनुभयो । यसबाट नेपालगञ्जबाट हुम्ला आउनुपर्ने यात्रु पनि उतै रोकिएका छन् ।

यसका साथै कार्गाेको सामान ढुवानी पनि रोकिएको छ । दुई दिनअघि सुरु भएको खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न ढुवानी पनि रोकिएको छ । हवाई सेवा बन्द भएपछि तरकारी, मासुलगायतका खाद्यवस्तुको समस्या देखापर्न थालेको स्थानीय उपभोक्ताले बताएका छन् । गोरखापत्र अनलाईन

Facebook Comments