Sat. Nov 16th, 2024

एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित, अष्टलक्ष्मी शाक्यलाई सर्वाधिक मत प्राप्त

काठमाण्डौं, २०७८ मंसिर १४ गते मंगलबार । नेकपा एमालेको दशौं महाधिवेशनमा उपाध्यक्ष पदमा घनश्याम भुसाल पराजित हुनुभएको छ । एमालेमा बौद्धिक तथा तार्किक नेताका रुपमा परिचय बनाउनु भएका भुसालले ७ सय २५ मत मात्र प्राप्त गर्नुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । प्राप्त मत परिणाम अनुसार भुसालले अरू ६ जना उम्मेदवारभन्दा कम मत प्राप्त गर्नुभएको हो ।

सो महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यलाई सर्वाधिक मत प्राप्त भएको छ । उहाँले १ हजार ९ सय ७६ मत प्राप्त गर्नुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी विघटनसँगै अध्यक्ष ओलीलाई साथ दिनुभएका पूर्वमाओवादी नेता रामबहादुर थापा बादलले १ हजार ७ सय ६८ मत प्राप्त गरी उपाध्यक्ष पद हात पार्नुभएको छ । त्यसैगरी सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज ज्ञवाली निर्वाचित हुनुभएको छ।

सुरेन्द्र पाण्डेले १ हजार ९ सय २५ मत प्राप्त गर्नुभएको छ भने विष्णु पौडेलले १ हजार ८ सय ५६, सुवास नेम्वाङले १ हजार ८ सय ६५, युवराज ज्ञवालीले १ हजार ८ सय ४२ प्राप्त गर्नुभएको छ ।

Facebook Comments