Sat. Oct 19th, 2024

भीम रावल भन्नहुन्छ : “अध्यक्षमा जो जो उठ्नुहुन्छ उहाँहरु सबै मेरा प्रतिस्पर्धी”

- एमालेको १० औं राष्ट्रिय महाधिवेशन विशेष

सौराहा, चीतवन, २०७८ मंसिर ११ गते शनिबार । नेकपा एमालेका वरिष्ठ नेता भिम रावलले अध्यक्ष पदमा उठ्नेहरु सबै आफ्ना प्रतिस्पर्धी हुने बताउनु भएको छ । चितवनको सौराहामा जारी पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रवेश गर्नु अघि नेता रावलले सो विचार व्यक्त गर्नुभएको हो ।

नेता रावलले भन्नुभयो, “व्यक्तिगत रुपमा र पार्टीगत दृष्टिकोणमा म अध्यक्ष केपी शर्मा ओलीलाई सम्मान गर्छु तर पार्टीभित्रको प्रतिस्पर्धामा अध्यक्ष पदमा जो जो उठ्नुहुन्छ उहाँहरु सबै मेरा प्रतिस्पर्धी हुनुहुन्छ ।”

यसैबीच पार्टीले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाएकोमा उपाध्यक्ष भीम रावलले फरक मत राख्नु भएको छ । उहाँले अध्यक्ष पदमा उम्मेदवारी समेत घोषणा गर्नुभएको छ । विधान महाधिवेशनको घोषाणविरुद्ध पदाधिकारी बढाएको भन्दै रावलको फरक मत आएको हो ।

एमाले नेतृत्वमा केन्द्रीय कमिटी तथा पदाधिकारी बढाउने प्रस्ताव महाधिवेशनको बन्दसत्रबाट पारित भएको थियो । जसअनुसार अब एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने भएको छ भने १९ जना पदाधिकारीहरु रहनेछन् ।

१० औं महाधिवेशनले उम्मेदवारको नाम फाइनल गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । शनिबार राति अबेरसम्म चलेको बैठकले उम्मेदवारको नाम फाइनल गर्ने जिम्मेवारी पार्टी अध्यक्ष ओलीलाई दिएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

Facebook Comments