Sat. Oct 19th, 2024

एमाले अध्यक्ष ओली भन्नुहुन्छ, “मेरो खुट्टा तान्नेहरु आज प्रधानमन्त्रीका खुट्टा समातिरहेका छन्”

- एमालेको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह भव्य रुपमा सम्पन्न

भरतपुर, २०७८ मंसिर १० गते शुक्रबार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूलाई अप्ठ्यारोमा पार्नेहरुले अहिले सरकारलाई असहयोग गरिरहेको बताउनु भएको छ । चीतवनको भरतपुरस्थित नारायणी नदी किनारामा आज सुरु भएको नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रधानमन्त्री काम गर्न चाहनुहुन्थ्यो कि, तर मेरो खुट्टा समात्नेहरु उहाँ (प्रधानमन्त्री)का खुट्टा समातिरहेका छन् कि, गोपनीयता खुस्काउनैपर्ने भयो, आउँदो चुनावपछि एमालेको सरकार बन्छ, एमालेले बाँकी रहेका विकासका कामहरु गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने काम गर्छ ।’

आगामी वर्ष हुने स्थानीय तह र प्रदेश सभाको चुनावको बारेमा चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, हामी अब चुनावको तयारीमा जाँदैछौं । हामी जनमतको तयारी गर्दैछौं, जनमतबाट हामीले एकल बहुमत ल्याउनु पर्नेछ यस देशका लागि एमालेका लागि होईन । अध्यक्ष ओलीले देशको सार्वभौमसत्ता, लोकतन्त्र र संविधानको रक्षाका लागि एकल बहुमत ल्याउनुपर्नेमा पनि जोड दिनुभयो ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियालाई टुङ्ग्याउन नचाहेको आरोप लगाउनुभएको छ । राजनीतिक आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार गर्न र समस्यामा परेकाहरूको समस्या समाधान गर्न पनि उहाँले अध्यक्ष दाहाललाई चुनौती दिनुभयो ।

राजनीतिक आन्दोलनका क्रममा घाइते भएकाहरूकाे उपचार गर्न र समस्यामा परेकाहरूको समस्या समाधान गर्न पनि उहाँले अध्यक्ष दाहाललाई चुनौती दिनुभयो । अध्यक्ष ओलीले पार्टीकाे महाधिवेशन सकिनेबित्तिकै दशौँ हजार पूर्वलडाकुलाई पार्टीमा प्रवेश गराउने तयारी रहेको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो सशस्त्र द्वन्द्वका घाउहरू पुछ्नु छ हामीले । अहिलेसम्म पनि शान्ति प्रक्रिया टुङ्गिएको छैन । नेकपा माओवादी केन्द्र प्रचण्डजीको नेतृत्वमा छ । अहिले पनि शान्ति प्रक्रिया किन टुङ्गो लगाउनु हुन्न उहाँहरू ? उहाँहरू टुङ्गो लगाउनु हुन्न । किन घाइतेहरूको बन्दोबस्त गर्नु हुन्न ? जेलमा रहेका झुटा मुद्दाहरू किन खारेज गर्नु हुन्न ? किन घाइतेको उपचार हुँदैन ? किन बर्हिगमित लडाकुहरूको व्यवस्थापन हुँदैन ? किन हुँदैन ? अनि मन परेका मान्छेलाई १०/१० हजार रुपैयाँ बाँड्ने रे ! १०/१० हजार मन परेको मान्छेलाई बाँडेर यो समस्याको समाधान हुन्छ ? घाइतेलाई उपचार गर्नुस्, समस्यामा परेकाको समस्या हेर्नुस् । हिजो घरबारविहीन भएका, अङ्गभङ्ग भएकाहरूलाई रोजगारी दिनुस् । तपाईँ सरकारमा हुनुहुन्छ, हिजो सरकारले गर्न दिएन भनेर भाषण गर्नुहुन्छ । अनि आज म प्रधानमन्त्री नभए पनि यो सरकार मेरो हातको कठपुतली हो म नचाइदिन्छु, मै शक्तिशाली, मै पावरफुल भन्दै हुनुहुन्छ । किन पावर देखाउनु हुन्न त ? पावर देखाउनुस् ।

अध्यक्ष ओलीले एमालेले छिमेकी र अन्य मुलुकसँग पारस्परिक लाभ, आपसी समानता र सार्वभौमिकताका आधारमा सम्बन्ध विकास गर्न चाहेको उल्लेख गर्दै आफू नेतृत्वको सरकारले पृथकतावाद र हिंसात्मक गतिविधिमा संलग्न पक्षहरुलाई शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा ल्याएकाले अब कुनै हिंसाको वातावरणको काम नरहेकाले विदेशीहरुले लगानी गर्ने वातावरण रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले देशमा समृद्धि, सार्वभौमिकता, लोकतन्त्र र संविधानको रक्षाका लागि एमालेको एकल बहुमत आवश्यक रहेको जिकिर गर्दै देशलाई मिलेर अघि बढाउन एमालेमा सामेल भएर आउन अन्य दलमा रहेका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘एमालेले आउँदो फागुनसम्म देशभर पार्टी प्रवेशका व्यापक कार्यक्रम आयोजना गर्नेछ’, उहाँले भन्नुभयो, ‘एमाले गफ गर्ने पार्टी होइन, देश र जनताका लागि काम गर्ने पार्टी हो ।’

Facebook Comments