भू-उपयोग नियमावली निर्माणको काम अन्तिम चरणमा पुर्याएका छौं-मन्त्री श्रेष्ठ
काठमाण्डौं, २०७८ मंसिर ४ गते शनिबार । भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले भू-उपयोग नियमावली निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ ।
उग्रचण्डी नाला समाजको आज काठमाडौंमा भएको चौथो सधारण सभाको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले भू-उपयोग नियमावली आएपछि खेती योग्य जमिनको संरक्षणभई व्यवसायिक कृषि र उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भू-उपयोग नीति अनुसार कृषि योग्य जमिन र किसानहरुको हकहितको संरक्षण गर्दै कृषि उत्पादकत्व बढाएर कृषिको व्यवसायीकरण, औद्योगीकरण र विविधिकरण गर्ने नीति अनुसार मन्त्रालय कृषियोग्य भूमिको संरक्षण गर्न लागिरहेको बताउनु भयो ।
मन्त्री श्रेष्ठले, भूमिहिन दलित, भूूमिहिन सुकुुम्वासी र उपत्यकाभित्र रहेका स्ववासीको समस्या समाधान गर्न आफूूले पहल शुरु गरिसकेको पनि बताउनुभयो । उहाँले राष्ट्रिय सार्वभौमसत्ता र विकास अभिभाज्य हुने भन्दै विकास निर्माणका काममा यो मेरो र तेरो नभनी एक भएर लाग्न सबैैलाई आग्रह गर्नुभयो ।
मन्त्री श्रेष्ठले काभ्रेको नाला प्राकृतिक सम्पदा, जैविक विविधता, संस्कृकि सम्पदाले महत्वपूर्ण हुदादुदै पनि प्रचार-प्रसार र संरक्षणको अभावमा अगाडी आउन नसकेको भन्दै नालासँगै काभ्रे जिल्लाकै विकासमा आफू सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।