Fri. Oct 18th, 2024

योग गुरु रामदेवको योग ध्यान तथा प्रशिक्षण चन्द्रागिरिमा

काठमाण्डौं, २०७८ मंसिर ४ गते शनिबार । योग गुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गर्नुभएको छ । बिहीबार नेपाल आउनु भएका भारतीय योग गुरु रामदेव बाबा शुक्रवार राति चन्द्रागिरि रिसोर्टमा बस्नुभएको हो ।

शुक्रवार साँझ त्यहाँ पुग्नुभएका उहाँलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले स्वागत गर्नुभएको थियो । रामदेव बाबा र पतञ्जलि योगपीठका आचार्य बालकृष्णले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराउनुभएको हो ।

शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण हुने भएपछि चन्द्रागिरि हिल्स लिमिटेडले बिहान पाँच बजेदेखि नै केबलकार सञ्चालन गरेको थियो ।

शनिबार बिहान ५ देखि ७ बजेसम्म सो रिसोर्टको हलमा र त्यसपछि बिहान ९ बजेसम्म खुला हावामा सञ्चालन गरिएको योग तथा ध्यान प्रशिक्षण शिविरमा सहभागी हुन योग प्रेमीहरू त्यहाँ पुगेका थिए । त्यस प्रशिक्षणमा योग गुरु रामदेव बाबा र आचार्य बालकृष्ण सहभागी हुनुहुन्थ्यो ।

त्यस अवसरमा बाबा रामदेव र आचार्य बालकृष्णले धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्वको पर्वत चन्द्रागिरिको निरीक्षण गर्नुका साथै त्यहाँ राखिएको जिप लाइनमा पनि सयर गर्नुभएको थियो ।

रामदेव बाबा र आचार्य बालकृष्णले त्यस अवसरमा चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा पूजा अर्चना पनि गर्नुभएको थियो । रासस

Facebook Comments