Fri. Oct 18th, 2024

राष्ट्रिय सहमतिको आधारमा परराष्ट्र नीति बनाउनुपर्नेमा परराष्ट्र मन्त्री खड्काको जोड

काठमाण्डौं, २०७८ मंसिर ४ गते शनिबार । परराष्ट्र मन्त्री डा. नारायण खड्काले परिवर्तित सन्दर्भमा राष्ट्रिय सहमतिको आधारमा परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल तथा एशियाली अध्ययनका लागि केन्द्र(सिनास)द्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले राजनीतिक दलका शीर्ष नेतासँगको सल्लाह र विगतका सरकारले अवलम्बन गरेका नीतिहरूका आधारका साथै विश्व परिवेशमा आएको फेरबदल तथा भूराजनीतिक अवस्थाअनुसार राष्ट्रिय हितलाई केन्द्रमा राखी स्वतन्त्र परराष्ट्र नीति तर्जुमा गर्न आफू क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

विश्वका शक्ति राष्ट्रहरू बीचको होडबाजीका कारण परराष्ट्र नीतिलाई  रणनीतिक र सन्तुलित ढङ्गबाट अगाडि बढाउनुपर्ने अवस्था रहेको बताउँदै मन्त्री खड्काले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखी तेस्रो मुलुक तथा छिमेकी मुलुक भारत र चीनको समृद्धिबाट कसरी बढीभन्दा बढी लाभ लिन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,“‘सबैलाई समान दृष्टिबाट हेर्न र व्यवहार गर्न सक्नुपर्छ, राष्ट्रिय हीत यसैमा हुन्छ र हाम्रो उद्देश्य पनि पूरा हुन्छ ।’’ छिमेकी मुलुकसँग कुनै समस्या भए द्वन्द्वको रुपमा नभई कूटनीतिक रुपमा समाधान खोज्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

विगतमा विभिन्न मुलुकसँग गरिएका सन्धि सम्झौताका मूलप्रति सङ्ग्रहित हुन नसक्दा हाम्रा महत्त्वपूर्ण ऐतिहासिक दस्ताबेजहरू संरक्षण हुन नसकेको उल्लेख गर्दै परराष्ट्र मन्त्री डा खड्काले विभिन्न पुस्तकालयहरूबाट बेचिएका, चोरिएका वा हराएका बहुमूल्य ग्रन्थहरू खोजी भइरहेको बताउनुभयो ।

नेपालको बारेमा स्वदेशी लेखकहरूले लेखेका कृतिका बारेमा भन्दा विदेशीले लेखेका कृतिलाई महत्त्व दिने र आधिकारिक मान्ने परिपाटी अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो ।

विश्वविद्यालयमा रहेका सिनासजस्ता प्राज्ञिक संस्थालाई साधन र स्रोत सम्पन्न गरी अनुसन्धानका कार्यहरू सोही संस्थामार्फत गराउन सरकार प्रतिबद्ध रहेको मन्त्री खडकाले बताउनुभयो ।

पूर्व परराष्ट्र मन्त्री तथा नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले बदलिँदो विश्व परिवेशमा नेपालले राष्ट्रिय हीत, असंलग्नता, विवादको शान्तिपूर्ण समाधान र मित्रराष्ट्रहरू नेपालबाट के चाहन्छन् भन्ने कुरा बुझेर अगाडि बढ्न सक्न पर्नेमा जोड दिनुभयो ।

शीतयुद्धमा अमेरिका र तत्कालीन सोभियत रुससँग समान रुपमा सम्बन्ध कायम गरी सहयोग लिन सकेको उल्लेख गर्दै उहाँले अहिलेको अवस्थामा पनि दुई शक्तिशाली छिमेकी मुलुक भारत र चीनसँग पनि समान सम्बन्ध स्थापित गरी बढीभन्दा बढी लाभ लिन सक्नु पर्दछ भन्नुभयो ।

सन् १९६१ मै टुङ्गिएको चीनसँगको सीमा विवादलाई अहिले पुनः खोतल्न खोज्दा त्यसले अनेक आशङ्का उब्जाउने हुँदा कूटनीतिक रुपमा समाधान खोजिनु पर्ने नेता ज्ञवालीको भनाइ थियो ।

पूर्व मन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले मुलुकको एकीकृत परराष्ट्र रणनीति नहुँदा एमसिसी, बिआरआईजस्ता सहयोग सम्झौताहरू विवादमा आएको उल्लेख गर्दै राजनीतिक दलहरुबीच विकासको स्पष्ट नीति  बन्न नसकेसम्म आगामी दिनमा पनि यस्ता विवादहरू सिर्जना हुने र त्यसले आपसी सम्बन्धमा पनि असर पुग्ने बताउनुभयो ।

उहाँले समाजवादी र वैज्ञानिक शिक्षा प्रणाली नहुँदा युवा जनशक्ति पलायन हुनाका साथै यसले मुलुकलाई कहिल्यै समृद्धितर्फ लैजान सक्दैन भन्नुभयो ।

नेता कार्कीले चीन र भारत शक्ति राष्ट्रको रुपमा उदय भएसँगै पुँजीवादतर्फ उन्मुख हुँदै गएका  बेलामा नेपालले कसरी आफ्नो अस्तित्व कायम राख्ने भन्ने विषयमा बुद्धिजीवीहरूले सबै राजनीतिक दललाई एकै ठाउँमा ल्याउन पहल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत तथा वरिष्ठ कुटनीतज्ञ  प्रा श्रीधर खत्रीले अहिले विश्वको स्वरूप बदलिएको अवस्थामा नेपालले आफ्नो पहिचानलाई स्थापित गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले छिमेकी मुलुकहरू शक्ति राष्ट्रको रुपमा अगाडि बढिरहेको अवस्थामा भूराजनीतिक स्थितिलाई ख्याल गरी सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्न सुझाव दिनुभयो ।

सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले मुलुकको मौलिक विदेश नीति बनाउन आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय सुरक्षा, विदेश नीति र कूटनीति अत्यन्त गम्भीर विषय भएकाले यसमा केन्द्रले आन्तरिक स्रोतबाटै अनुसन्धानका कामहरू अगाडि बढाउने बताउनुभयो ।

उहाँले नेपालको परराष्ट्र नीतिका सम्बन्धमा पूर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग अलगअलग संवाद गरी साझा अवधारणा तयार गर्न सिनासले पहल गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा सिनासद्वारा प्रकाशित  रणनीतिक अध्ययन शृङ्खला (स्टयाटेजिक स्टडिज सेरिज)को ११ औँ अङ्क विमोचन गरिएको थियो ।

विश्वमा शीतयुद्धको प्रभाव रहेको अवस्थामा सन् १९८४ मा स्थापना भएको सिनासले केही वर्षसम्म प्रकाशन गर्दै आएको उक्त शृङ्खला  १० अङ्कसम्म प्रकाशन भएर ३५ वर्षदेखि स्थगित भएकामा यसै वर्ष ११ औँ शृङ्खला प्रकाशन भएको छ ।

यस जर्नलमा राष्ट्रपति विद्यादेवी भण्डारीको अन्तर्वार्ता, परराष्ट्रविद् आनन्द आदित्य, गौरवशंसेर थापा, श्वेता कार्की, लालबाबु यादव, चन्द्रदेव भटृ तथा चिनियाँ प्राध्यापकहरूको अनुसन्धानमूलक लेखहरू समावेश हुनाका साथै चिनिया राष्ट्रपतिको नेपाल भ्रमणका अवसरमा व्यक्त मन्तव्य र राष्ट्रपति भण्डारीको चीन भ्रमणको अवसरमा खिचिएका तस्बिर पनि समावेश गरिएको छ । रासस

Facebook Comments